तिलोत्तमाको सगरमाथा टोललाई सगरमाथा डिजिटल टोल घोषणा गरियो

बुटवल, असोज ४ गते । रुपन्देही तिलोत्तमा वडा नम्बर २ को सगरमाथा टोललाई सगरमाथा डिजिटल टोल घोषणा गरिएको छ । २०८१ सालको तिहारमा देउसी भैलो खेलेर संकलन गरिएको पैसाले टोलमा सिसी क्यामरा जडान गरिएको छ । देउसी भैलामा संकलन भएको पैसाले सगरमाथा टोलमा नयां प्रविधिका सिसी क्यामराहरु जडान गरेपछि सगरमाथा डिजिटल टोल घोषणा गरिएको हो ।

संविधान दिवसको अवसरमा शनिबार सगरमाथा टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले सगरमाथा टोललाई सगरमाथा डिजिटल टोल घोषणा गरेका हुन् ।

सगरमाथा टोललाई डिजिटल टोल बनाउन ६ लाख ७० हजार खर्च गरेर १९ वटा नयां प्रविधिका सिसी क्यामरा जडान गरिएको सगरमाथा डिजिटल टोल विकास संस्थाका अध्यक्ष धुर्व पाण्डेले जानकारी गराए । १९ वटा सिसी क्यामरामध्ये १७ वटा देउसी भैलोको पैसाले खरिद गरिएको र २ वटा क्यामरा खानेपानीले उपलब्ध गराएको अध्यक्ष पाण्डले बताए ।

तिलोत्तमावडा नम्बर २ मा पर्ने सगरमाथा जिजिटल टोल संस्था अन्तरगत २४६ घरधुरी छन् । टोलका सडक र चोकचोकमा केही महिना अघिदेखि सिसी क्यामरा जडान गरिएको छ । अध्यक्ष पाण्डेका अनुसार सिसी क्यामरा जडान गरेपछि अहिले २४६ घरधुरीका सदस्यहरुले मोवाइलको माध्यमबाट आफ्नो घर र टोलको अवस्था सहजै हेर्न र बुझ्न सकिने व्यवस्था मिलाईएको छ ।

सोही कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले विकासलाई प्रविधिसंग जोड्न पर्ने बताए । हामिले गर्ने विकासका कामहरु प्रविधिसंग जोडर जेनजी पुस्तालाई विकासमा सहभागिता गराउनु पर्ने नगर प्रमुख खांणको भनाइ छ ।
हरेक टोलहरुलाई उज्यालो टोल बनाउनु पर्ने बताउंदै नगर प्रमुख खांणले भने – सिसी क्यामराका कारण सुरक्षाको हिसावले सुरक्षाको महसुस हुने र अब नगरका सबै टोललाई डिजिटल टोल बनाउने हो ।

तिलोत्तमा २ का वडाध्यक्ष दिलबहादुर भट्टराइले वडा भित्रका ११ वटै टोलहरुलाई डिजिटल टोल बनाउने प्रतिवद्वता जनाउंदै सिसी क्यामरा जोड्दैमा ढुक्क हुन नसकिने बताए । वडाध्यक्ष भट्टराईले बैज्ञानिक भन्दा चोरहरु अझ बढी बैज्ञानिक हुने भएकाले सिसी क्यामरा जडान भएको छ भनेर ढुक्क नहुन र सचेतपूर्वक ध्यान पुराउन सबै टोलवासीलाई आग्रह गरे ।

कार्यक्रममा सगरमाथा डिजिटल टोल विकास संस्थाकी उपाध्यक्ष देवी शर्मा, टोल विकास सञ्जालका कार्यवाहक अध्यक्ष नारायण चापागाई, भैलो कार्यक्रमका संयोजक विष्णु भण्डारी, संस्थाका नारायण चापागाई, अरुण अर्याल, शरिता ढकालले डिजिटल टोलबारे आआफ्ना भनाई राखेका थिए, भने संस्थाकी कोषाध्यक्ष विष्णु गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

सगरमाथा डिजिटल टोल विकास संस्थाका अध्यक्ष धुर्व पाण्डेको अध्यक्षता र सचिव सिर्जना आचार्यको सञ्चालनमा भएको उक्त कार्यक्रममा देउसी भैलोलाई आर्थिक रुपले सहयोग गर्ने सहयोग दाता र भैलोमा गीत तथा नृत्य प्रस्तुत गरेका जेनजी पुस्ताका कलाकारलाई सम्मान गरिएको थियो ।

देउसी भैलोबाट ७ लाख ५५ हजार २९५ रुपैयां संकलन भएको कोषाध्यक्ष विष्णु गौतमले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसमध्ये ६ लाख ७० हजार खर्च ससिी क्यामरा खरिद गरिएको र बांकी रहेको रकम विद्युतमा खर्च भएको अध्यक्ष धुर्व पाण्डेले जानकारी गराएका छन् ।