दशैँमा नागढुंगा–सिस्नेरी सुरुङमार्ग खोलिने


काठमाडौं। सरकारले दशैँको अवसरमा काठमाडौँबाट बाहिरिने सार्वजनिक सवारी साधनहरूका लागि नागढुंगा–सिस्नेरी सुरुङमार्गलाई सञ्चालनमा ल्याउने निर्णय गरेको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले यो निर्णय गरेको हो।

मन्त्री घिसिङले सुरुङमार्गको निर्माण कम्पनीले सुरक्षाका कारण तत्काल पूर्णरूपमा सञ्चालन गर्न नसकिने बताए पनि चाडपर्वमा यात्रुको सुविधाका लागि यसलाई (परीक्ष) को रुपमा दशैँअघि नै सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए। यद्यपि, दशैँ पछि भने सुरुङमार्ग प्रवेशमा रोक लगाइनेछ ।
बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापन र सडक सुरक्षाका सन्दर्भमा सातवटा निर्णयहरु गरेको छ। यसअनुसार, काठमाडौं उपत्यकाको नयाँ बसपार्क र विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती र प्रहरीको सङ्ख्या बढाइनेछ । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैँ अवधिभर ठूला भारवाहन सवारी साधनको सञ्चालनमा रोक लगाइनेछ भने खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई भने निरन्तर आवागमन गर्न दिइनेछ।

साथै, बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा २४ सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने र नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा खसेको पहिरो हटाई तत्काल यातायात सञ्चालनमा ल्याइनेछ। तातोपानी नाकालाई जोड्ने मुख्य सडक पनि दशैँअघि नै सञ्चालनमा ल्याउने गरी काम गरिनेछ ।
यात्रुहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सार्वजनिक सूचना जारी गरिनेछ । देशभरको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ सै घण्टा सञ्चालन हुनेगरी फोकल पर्सनको व्यवस्थापन गरिने निर्णय पनि भएको छ। सार्वजनिक सवारी साधनहरुलाई सुरक्षित र प्रविधिमैंत्री बनाउन यातायात व्यवस्था विभागलाई यथाशीघ्र कार्यविधि तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिइएको छ । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घ लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुरूको उपस्थिति रहेको थियो ।






















