हमासले सार्वजनिक गर्यो विपिनसहित ४८ बन्दीको तस्वीर

काठमाडौं । हमासको सशस्त्र सैन्य शाखा ‘इजुद्दिन अल–कस्साम ब्रिगेड्स’ले शनिबार आफ्नो टेलिग्राम च्यानलमार्फत गाजामा रहेका ४८ जना बन्दीहरुको तस्बिर सार्वजनिक गरेको छ । जसमा नेपालका विपिन जोशीको तस्वीर पनि राखिएको छ । ती तस्बिरमा जीवित र मृत दुवैलाई समावेश गरिएको छ।

हमासले जारी गरेको विज्ञप्तीमा इजरायलको निरन्तर स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरुको जीवन संकटमा परेको दाबी गरिएको छ । सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्दीहरुलाई ‘रोन अराड’ शीर्षकमा देखाइएको थियो । यो नाम १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका एक अधिकारीसँग जोडिएको मानिन्छ।

इजरायली अधिकारीहरुले अझै करिब २० जना बन्दी जिउँदै गाजामा रहेको विश्वास व्यक्त गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितहरुको संख्या अझै कम हुन सक्ने बताएका छन् ।

शनिबार हामासले दिएको उक्त धम्कीपछि हजारौँ इजरायलीहरु पुनः तेल अभिभ र अन्य शहरका सडकमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले तत्काल युद्ध अन्त्य गरेर बन्दीहरुको सुरक्षित फिर्तीको माग गरेका छन् ।

यसअघि हमासले दुई जना इजरायली बन्दीको भिडियो सार्वजनिक गरेको थियो । त्यसको करिब एक महिना अघि दुईजना कुपोषित बन्दीहरुको अर्को भिडियो प्रसारण गरिएको थियो, जसमा एकलाई आफ्नै चिहान खन्न बाध्य बनाइएको देखाइएको थियो ।

यी भिडियो र तस्वीरहरुले बन्दीका परिवारहरु, इजरायली अधिकारी तथा अमेरिकी र अन्य सहयोगी राष्ट्रहरुमा आक्रोश उत्पन्न गराएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ देखि इजरायलसँगको युद्ध शुरु भएपछि कम्तीमा ६५ अजार २ सय ८ जना मारिएका छन् । जसमा १ लाख ६६ हजार २ सय ७१ जना घाइते भएका छन् । मार्च १८ मा इजरायलले हामाससँगको युद्धविराम तोडेयता मात्र १२ हजार ६५३ जना मारिएका छन् । ५४ हजार २३० जना घाइते भएका छन् ।

गाजा सहरमा पछिल्लो दिन मात्रै दर्जनौँ मानिस मारिएका छन्, घरहरु ध्वस्त पारिएका छन्, हजारौँ मानिस भाग्न बाध्य भएका छन् । इजरायलले सम्पूर्ण क्षेत्रलाई युद्ध क्षेत्र घोषित गरेको छ ।