सोह्र श्राद्ध आज समापन गरिँदै

काठमाडौं। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृको नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। सोह्र तिथिसम्म चल्ने भएकाले यसलाई सोह्र श्राद्ध पनि भनिन्छ ।

पितृपक्षको अन्तिम दिन आज औँसी तिथिमा श्राद्ध गरिन्छ । यदि कुनै कारणले पितृपक्षको अन्य तिथिमा श्राद्ध गर्न नसकिएको भए आजको दिनमा गर्नुपर्ने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, आज पनि श्राद्ध गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ । त्यसपछि पनि सम्भव नभए कार्तिक कृष्ण औँसी (लक्ष्मी पूजा) वा मङ्सिरको वृश्चिक सङ्क्रान्तिसम्म जुराएर श्राद्ध गर्न सकिने विकल्प रहेको छ ।

यदि यी सबै समयमा पनि श्राद्ध गर्न नसकिएमा सक्ने व्यक्तिले आफैँ वा नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्रले दैनिक १०८ पटक जप गर्न सकिने शास्त्रीय विकल्प रहेको छ । यसरी १० महिनासम्म जप गर्दा पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार, कुनै पनि ठूला माङ्गलिक कार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ । पितृपक्षको समयमा दिवङ्गत पितृहरु पिण्ड र पानीको आशामा मर्त्यलोकमा आउने धार्मिक विश्वास छ । यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइने मान्यता छ ।

आज उपत्यकाको गोकर्णेश्वर उत्तरगया, बेत्रावती, देवघाट र त्रिवेणी लगायतका तीर्थस्थलहरूमा पितृप्रति श्रद्धा प्रकट गर्न श्राद्ध गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । पितृपक्षको समाप्तिसँगै असोज ६ गते घटस्थापना गरी दुर्गापक्ष अर्थात् बडादसैँ शुरु हुनेछ ।