आगामी फागुन २१ गते चुनाव हुन्छः सञ्चारमन्त्री खरेल

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गराउने म्यान्डेट पाएको बताएका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पारे ।

मन्त्री खरेलले जनताले महसुस गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनुभूति हुने गरी पुनर्निर्माणको कामलाई अघि बढाउनेछ ।

उनले भ्रष्टाचार नियन्त्रण एकैपटक नहुने भए पनि यस सरकारले यस विषयमा निर्ममतापूर्वक काम गरिरहेको जनतालाई महसुस गराउन सकिने बताए । उनले कर्मचारीको काममा राजनीतिक हस्तक्षेप नहुने र त्यसले गर्दा उनीहरुले सहज रुपमा काम गर्न सक्ने विश्वास पनि व्यक्त गरे ।