मिलन कला केन्द्रमा दशैं मिलन

बुटवल, असोज ११ गते । कलाकारिताको क्षेत्रमा नयां प्रतिभाको खोजी गर्दै आएको मिलन कला केन्द्र बुटवलले संस्कृति संरक्षणका क्षेत्रमा पनि रचनात्मक कार्यक्रम गर्दै आएको छ । नेपाली समाजमा विभिन्न प्रकारका संस्कृति, संस्कार अनुसारका मेला पर्वमा मिलन कला केन्द्रले रचनात्मक कार्यक्रम गर्ने गरेको छ ।

रचनात्मक कार्यक्रम अन्तरगत दशैं, तिहार, छट, नेपाल सम्वत्, इद लगायत सबैजसो पर्वको संस्कार अनुसार मेला पर्वहरु मनाउने गरेको छ । मिलन कला केन्द्रले बुटवलमा परापूर्व कालदेखिको संस्कार अनुसार दशैं मिलन कार्यक्रम गरेको छ ।

मिलन कला केन्द्रका विद्यार्थी र सल्लाहाकारहरुको सहभागितामा दशै मिलन कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मिलन कला केन्द्रकी सल्लाहाकार डा. ज्योति भट्टले दशैंको झल्को आउने गरी सहभागिहरुलाई टिका र जमरा लगाइदिएर आर्शिवाद दिएकी थिइन । दशैंको टिका लगाउने बेला दिने आशिष दिएर निधारमा टिका र शीरमा जमरा लगाइएर डा. ज्योति भट्टले आर्शिवादसहित दक्षिणासमेत दिंदा घरमै टिका लगाएको भान भएको सहभागीहरुले बताए ।

नेपालीले मनाउंदै आएको दशैं, तिहार, छट लगायतका सबै पर्वहरुको आआफ्नै संस्कार र संस्कृति भएकाले सबै पर्वहरुका परम्परादेखिका संस्कार नयां पुस्तालाई हस्तान्त्रण गर्नुपर्ने डा. ज्योति भट्टले बताइन ।

मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले हरके विद्यार्थी, सल्लाहाकार, कला केन्द्रका सदस्यहरु र कलाकारहरुको सहभागितामा हरेक पर्वहरु मनाउने गरिएको बताइन । उनले मेला पर्वहरुलाई महंगा र भड्किला बनाउन नहुने बताउंदै उनले भनिन् – आफ्नो संस्कार अनुसार मनाइने पर्वहरुमा बढी खर्च गर्नु हुदैन । मेला पर्वलाई एक आपसमा मिलन, एकता, र सद्भाव कायम गर्नुपर्छ ।

कार्यक्रममा शारदा पाण्डेय, दिलकुमारी उपाध्याय, नितृय निर्देशक संघ लुम्बिनी प्रदेशका सचिव तथा मिलन कला केन्द्रका सचिवलगायतले आआफ्ना भनाइ राखेका थिए ।

कला कारिताको क्षेत्रमा २०६५ सालदेखि काम गर्दै आएको मिलन कला केन्द्र बुटवलले कला भएका तर आफ्नो कला देखाउन नसकेका कला भएर पनि लुकेर बसेका प्रतिभाहरुको खोजी गर्ने गरेको छ । नयां प्रतिभाको खोजी गर्दै मिलन कला केन्द्रको अडिसनः “नो भोट, नो एसएमस” लागू गरेर नयाँ प्रतिभाको खोजी गरेको छ । “नो भोट, नो एसएमस” लागू गरेर मिलन कला केन्द्रले लुम्बिनी प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीका अनुसार भोट र एसएमएसका कारण कैयौं लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउने गरी नो भोट नो एसएमसबाटै प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिताबाट दर्जनौ नयां कलाकारहरु उत्पादन भएका छन् ।

कला तथा नृत्य क्षेत्रलाई पेशागत रुपमा अगाडी बढाएको बुटवलको मिलन कला केन्द्रले फरक–फरक खालका प्रतियोगिता आयोजना गर्ने गरेको छ । अध्यक्ष मिना बुढाथोकीले भनिन् कला भएका व्यक्तिलाई हौसला बढाउने र उसमा भएको क्षमतालाई बाहिर ल्याउने उद्वेश्य हो हाम्रो ।