परिवारको आशा निराशाः विपिन जोशी जीवित नरहेको इजरायलद्वारा पुष्टि

काठमाडौँ। विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायली अधिकारीहरुले जोशी जीवित नरहेको पुष्टि गरेको जनाएको छ।

इजरायली अधिकारीहरुले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएको दूतावासले उल्लेख गरेको छ । हमास समूहले विसं २०८० असोज २३ (अक्टोबर ७, २०२३) मा इजरायलको किबुल आलुमिमबाट जोशीलाई अपहरण गरेको थियो।

नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि सामाजिक सञ्जालमार्फत जोशी जीवित नरहेको पुष्टि गर्दै लेख्नुभएको छ, विपिन जोशी अब हामीमाझ रहनुभएन । दुई वर्षको आशा अब समाप्त भएको छ। इजरायली सञ्चारमाध्यमले पनि जोशी जीवित नरहेको स्पष्ट पारेका छन् ।

जोशी सन् २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल गएका थिए ।