दिगो विकास पर्खाइमा दाङको पुरन्धारा छहरा


बुटवल । विकास र समृद्धिको प्रमुख आधार प्राकृतिक स्रोत तथा सम्पदाहरु हुन् । प्रकृतिले आफ्ना सतह, भूगर्भ र पर्यावरणमा निःशुल्क रुपमा दिएका उपहार कुनै पनि मुलुकको दिगो विकास, प्रगतिका आधार हुन् तर ती स्रोतहरुले आफैँ उपयोगिता सिर्जना गर्न भने सक्दैनन् ।

त्यसको उपयुक्त व्यवस्थापन, संरक्षण र उपयोग गरेर नै स्रोतले उपयोगिताको सिर्जना गर्ने गर्दछ । कतिपय प्राकृतिक स्रोत अहिले पनि पवित्र छन्, जसले विकास र समृद्धिको ठुलो सम्भावना बोकिरहेको पाइन्छ ।
यस्तै सम्भावना बोकेको झरना हो दाङको ऐतिहासिक रुपमा महत्वपूर्ण ठानिएको पुरन्धारा झरना । पर्यटकीय दृष्टिकोणले आकर्षक देखिने झरनाको दृश्यावलोकन निकै मनमोहक छ । बबई गाउँपालिका वडा नम्वर ५ बवरपुरस्थित मथुरेकोट नजिकै रहेको ४५ फिट उचाइ रहेको छहराबाट बगेको पानी नजिकैको बबई नदीमा मिसिन्छ ।

जिल्लाको सदरमुकाम घोराहीदेखी ५५ किलोमिटर पश्चिममा रहेको झरना पहिले ४ सय मिटरको उचाईमा रहेकोमा संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि उचाई घटेर हाल ४५ फिट रहेको जनाइएको छ ।
प्राकृतिक बनावट रहेको छहराको पौराणिक धार्मिक महत्वसँग जोडिएको स्थानीय बताउँछन् । हापुरे बजारदेखि करिव १० किलोमिटर पश्चिम घनाजंगलमा रहेको छहरा प्राकृतिक सुन्दरताको एउटा नमुना देखिन्छ । जहाँ, अवलोकन गर्न पछिल्नो समय दिनहुँजसो आन्तरिक पर्यटकहरु जाने गरेका छन् ।
केही बर्षअघि प्राकृतिक छहराबारे कुनै चासो नभएका बेला सामाजिक सञ्जालले प्रचारप्रसार भएपछि अहिले दैनिकरुपमा पर्यटकहरुको संख्या बढ्दै गएको पाइएको छ । बढ्दो गर्मीयामसँगै झरनाको फेदीमा सेल्फी खिच्ने र पौडी खेल्नेको सङ्ख्या बढेको हो ।
दाङ र अन्य छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेको, पालिकाले राम्रा योजना बनाएको झरनाको पार्किङ व्यवस्थापनका लागि बबई गाउँपालिकाबाट खटिएका कर्मचारी दलबहादुर खत्रीले बताउँछन् ।
अवलोकन गर्न आउने पर्यटकबाट प्रवेश शुल्क लिने नगरे पनि सवारीसाधन पार्किङवापत मोटरसाइलको ३०, कार तथा जिपको दुई सय र बसको दुई सय ५० रुपैयाँ लिने गरिएको र सवारी पार्किङ शुल्कको आम्दानीले कर्मचारी व्यवस्थापन, पूर्वाधार निर्माणमा लगाइने गरिएको बताइएको छ ।
बबई गाउँपालिका गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले पुरन्धारा झरनामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन नयाँ योजना ल्याउनेगरी ०७८/७९ मा हामी डीपीआर बनाउँछौ भनेर लाग्दा वनले आफैले बनाउने भनेर डीपीआर बनाएको तर उक्त डीपीआर डिभिजन वन कार्यालय दाङले स्वीकृति नगर्दा झरनाको विकास हुन नसकेको बताए ।
छहरामा क्यानोनिङ तथा बन्जिङ जम्प, बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चराचुरुङ्गी र जीवजन्तु अवलोकन गराउन सके आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।






















