फागुन २१ को चुनावमा भाग नलिने केपी ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा हुने भनिएको मध्यावधि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटीको दशौँ बैठकलाई शुक्रबार समापनका क्रममा सम्बोधन गर्दै ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।

ओलीले उक्त घोषणा गरेपछि उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे । त्यसक्रममा केहीबेर बैठक हलमा हल्ला भयो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि ज्ञवाली र शाक्यले ओलीको उक्त भनाइमा फरक मत राखेको जानकारी दिएका छन् ।

ओलीले आगामी फागुन २१ मा चुनाव नहुने बताउँदै भने, अबको बाँकी ४ महिनामा चुनाव हुँदैन, नहुने चुनावमा हामी जानु हुँदैन, उनले भने, हामीले संसद् पुनर्स्थापनामै जोड दिनुपर्छ । त्यहीअनुसार प्रचारात्मक अभियानमा हामी जानुपर्छ ।

ओलीले आफ्नो जिम्मेवारी पूरा नगरी पार्टीबाट राजीनामा नदिने बताएका छन् । ‘केही साथीहरुले राजीनामा माग्नुभाछ । ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ, उनले भने ।

ओलीले आफ्नो राजीनामाबारे महाधिवेशनमा पनि छलफल गरिने बताए । मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला, उनले भने, प्रतिनिधिहरुसँग फैसला मागौँला । पार्टीलाई तिक्ततासहित अघि नबढाऔं, सबैजना मिलेर अघि बढौँ ।