अधुरै रह्यो बहिनी पुष्पाको भाइटीका लगाउने सपना

बुटवल । दुई वर्षदेखि बहिनी पुष्पाको एउटै आग्रह हुन्थ्यो यसपटकको भाइटीका लगाउन पाउँ । तर त्यो सपना पूरा भने हुन सकेन । दुई वर्षपछि तिहारकै दिन दाइको शव घरमा पुगेपछि उनी सम्हालिन सकेकी छैनन् ।

यसपटक पनि तिहारमा भाइटीका लगाउने ठूलो आशा बोकेर उनी आमासँगै दाइको रिहाइका लागि इजरायल हुँदै अमेरिकासम्म पुगेर हरसम्भव प्रयास गरे । विडम्बना, बहिनी पुष्पा र आमा पद्मा अमेरिकामै रहेकाबेला विपिन अस्ताएको दुःखद् खबर सुन्नु पर्‍यो ।

हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको शव दुई वर्षपछि सोमबार राति लक्ष्मीपूजाकैै दिन कफिनमा घरमा पुग्दा गाउँमै सन्नाटा छाएको छ । भाइ फर्किने ठूलो आशा थियो, किशोर जोशीले भने, तर सबै सपनामाथि बज्रपात भएको छ । बोल्ने र भन्ने शब्द नै रहेन ।