आज हरिबोधिनी एकादशी


काठमाडौँ । आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी मनाइने प्रचलन रहेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिय भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

आजका दिन विशेष गरी काठमाडौं उपत्यकाको चाँगुनारायण, ईचाँगुनारायण, शेषनारायण, विसंखुनारायण र बुढानिलकण्ठमा मेला लागेको छ ।
देशैभरका नारायण मन्दिरमा भीड लागेको हो । तस्बिरमा चाँगुनारायण मन्दिरमा झरीको समयमा पनि दर्शनका लागि श्रद्धालुहरूको भीडसँगै देशका विभिन्न भागका नारायण मन्दिरहरूको भीड देखाइएको छ । तुलसीको पूजा पनि गरिएको छ ।






















