चौधौं प्रतीमा स्मृतिः स्वर्गीय नामलाई जीवन्त बनाउन “रक्तदान”

बुटवल । संसारमा कसैलाई न कसैलाई रगतको आवश्यकता पर्दछ । चाहे त्यो बच्चा जन्माउने आमा होस्, चाहे क्यान्सरसँग लडिरहेको व्यक्ति होस्, वा दुर्घटनाको शिकार होस्, दान गरिएको रगतले जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ । तर पनि, धेरै अस्पताल र रक्त बैंकहरुले प्रायः अभावको सामना गर्दै आएको पाइन्छ ।

सोही अभावलाई सहयोग पुगोस् भन्ने उद्देश्यले बुटवलका एक सामाजिक व्यक्तिले आफ्नो छोरस्को स्मृतिमा हरेक बर्ष रक्तदान गर्दै आएका छन् । बुटवल उपमहानगरपालिका वडा न-१ का वडाध्यक्षसमेत रहेका सामाजिक क्षेत्रमा क्रियाशील नरेन्द्र बस्नेतले उक्त रक्तदान कार्यक्रम गर्दै आएका हुन् ।

प्रत्येक बर्ष उजिर सिंह, बुटवल मावि, सरस्वती, मदरसा विद्यालयमा अध्ययनरत मावि स्कुलबाट १० जना र आधारभूतबाट ८ जना र बाँकी मदरसाका विद्यार्थी र स्व. बस्नेतले अध्ययन गरेको महावीर इङ्गलिस बोर्डिङको प्रत्येक बर्ष एसएलसीमा उत्कृष्ट नतिजा ल्याउनेलाई नगद ३ हजार र प्रमाणपत्रले सम्मान गरी ५८ जनालाई छात्रवृत्ति हस्तान्तरण गर्दै आएको र यसका साथै पहिलोपटक रक्तदान गर्ने महिलालाई सम्मानसहित प्रमाणपत्र प्रदान गर्ने गरेको प्रतीमाका बुवा बस्नेतले बताए् ।

बुवा बस्नेतले भावुक हुँदै भने-२०६८ कार्तिक २८ गते म आमाको निधन भएकाले दाङ घरमा थिए, उता छोरी प्रतीमा अमेरिका जाने भनेर तयारी अवस्थामा थिइन्, उनी त्यही कामको लागि लागिरहँदा भैरहवास्थित अञ्चलपुरमा मोटरसाइकल दुर्घटनामा मृत्युवरण भयो । मेरो आमाले छोडेको १६ औं दिनमा २२ बर्षिय छोरी गुमाउनु परेको पिडा सम्झिदा मन भारी हुन्छ । त्यसैले मैले छोरीको नाम सधैं अमर रहोस् भनेर उनको स्मृतिमा रक्तदान, छात्रवृत्ति जस्ता सामाजिक एवं मानवीय सेवाका कार्यलाई निरन्तरता दिदै आएको छु ।

बुटवल उपमहानगर वडा न-११ मा बुटवल उपमहानगर, विभिन्न सहयोगी दाताबाट प्राप्त रकम र १० लाख रुपैयाँ संस्थाले थप कर्जा लिएर ४१ लाख रुपैयाँ लागतमा हलसहित दुई कोठे भवन निर्माण गरिएको छ ।

यसअघि शिक्षक, पत्रकार, नगरपालिका कर्मचारी एशोसियनका व्यक्तिहरुलाई (गुणस्तरीय शिक्षा प्रदान र नियमित विद्यालय उपस्थित हुने) शिक्षक, सडक दुर्घटना न्यूनिकरणका बारेमा धेरै कलम चलाउने पत्रकार र निस्वार्थ समाजसेवामा तल्लिन व्यक्तिलाई जनही पाँच हजार रुपैयाँले सम्मान गरेको बताइएको छ ।

यसरी सम्मानित हुनेमा अर्मता अनमोल, मीना ढकाल, भगवती पाण्डे, रेखा भुसाल, इन्दिरा भण्डारी, कल्पना तिवारी, सञ्जु पौडेल र शारदा मल्ल रहेका छन् ।

प्रतीमाको स्मृतिमा गरिएको रक्तदानले पारी बुटवलका स्थानीयहरुलाई विशेषगरी टेवा पुगेको भन्दै दुर्घटनामा परेका, अस्पतालको शैयामा रगत नपाएर जीवन र मरणको दोसाँधमा परेकालाई सहयोग पुग्ने विश्वास लिइएको छ । बस्नेतको सम्झानामा शनिवार पारी बुटवलमा आयोजना गरिएको १४ औं रक्तदान कार्यक्रममा स्थानीयहरुले उत्साहका साथ रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा २० युनिट रगत संकलन भएको जनाइएको छ ।