सैनामैनाका जनप्रतिनिधिले एक महिलालाई ठगेका खुलसा


बुटवल, कार्तिक २८ गते । रुपन्देही सैनामैनाका जनप्रतिनिधिले बुटवलकी एक महिलालाई घडेरी दिने भनी लगेको पैसा घडेरी नदिएर ठगेको रहस्य खुलेको छ । सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य सुरज बरालले बुटवल २ निवासी राधा नेपालीलाई घडेरी पास दिने जिम्मा लिएर सुरज बरालले साढे ४ लाख पैसा लगेका थिए । 

तिलोत्तमा नगरपालिका वडा नम्बर ११ को भूपु सैनिक टोल अर्थात ४ नम्बरमा सुरज बराल र सौगात बरालको नाममा रहेको अव्यवस्थित १० धुर घडेरी राधा नेपालीको नाममा वडामा पास दिने सहमतिमा तमसुक गरी राधाले बराल दाजुभाईलाई पैसा बुझाएकी थिइन ।
राधा नेपालीलाई साढे ४ लाखमा अव्यवस्थित १० धुर जग्गा दिने जिम्मा जनप्रतिनिधि सुरज बरालले लिएपनि उक्त जग्गा सुरज बराल र सौगात बरालको नामको थियो । पीडित राधा नेपालीका लागि अनुसार सुरज बराल र सौगात बराल नाताले दाजुभाई हुन् । सुरज बराल एमालेका स्थानीय नेता हुन् भने उनी दलित उत्थान संघ सैनामैनाका संस्थापक अध्यक्षसमेत हुन् । 

पैसा लगेर पनि लामो समयसम्म घडेरी नदिएको पीडित महिला राधा नेपालीले सार्वजनिक गरेकी छन् । सैनामैना नगरपालिका कार्यपालिका सदस्य सुरज बराल र सौगात बरालले राधा नेपालीबाट २०७६ साल फागुन १६ गते घडेरीको बैना स्वरुप कागज गरी ३ लाख २५ हजार बुझेका थिए । त्यस्तै दोस्रो पटक २०७७ साल पुस १५ गते १ लाख २५ हजार बुझाएको तमुसक देखाउंदै राधा नेपालीले जग्गा नपाएको गुनासो गरिन् ।
तमुसक आन्नद भैरव टोलविकास समितिका अध्यक्ष धनबहादुर कुंवर, सचिव दिलिप पुन, जमुना सुनारको रोहवरमा दुई पटक गरी साढे ४ लाख पैसा बुझाएको राधा नेपालीले बताइन । 
टोलविकास समितिका सचिव दिलिप पुनले तमुसक लेखेका थिए । घडेरीको तमसुक बनाउंदा उक्त तमसुक बनाउनका लागि १३ हजार नगद दिएको र उक्त १३ हजारको कुनै बिल नदिएकोसमेत राधाले बताइन । लिखित कागत गरेर बैना बुझेको सप्रमाण पीडित राधा नेपालीले नयां दिशालाई उपलब्ध गराएकी छन् । नांपी आएपछि जग्गा नांपजांच गरेर टोल विकास समितिको रोहवरमा वडाबाट पास दिने गरी लिखित सहमतिको कागज प्राप्त भएको छ ।
पहिला देखाएको जग्गा नदिएपछि सुरज बराल र सौगात बरालले राधा नेपालीलाई अर्को ठाउंको नांपी भएको जग दिन्छौ भनेर २०८१ जेठ २५ गते कागज गरेपनि घडेरी पास नदिएको पीडित राधाले बताइन । पीडित राधा नेपालीले बुटवलमा पत्रकार सम्मेलन सुरज र सौगात बरालले जालझेल गरी उक्त जग्गा नदिई जंगलमा पर्ने र भूमि आयोगले नापजांच नगरेको जग्गा लिन दबाब दिएको गुनासो गरिन् । बैना बुझ्दा देखाएको जग्गा नभएर वन क्षेत्रको जग्गा दिन लागेकाले आफुले त्यस्तो वन क्षेत्रमा परेको जग्गा नलिने बताइन ।
उक्त ठाउंमा सुरज बरालको १० कठ्ठा जग्गा रहेको तिलोत्तमा वडा नम्बर ११ को वडा कार्यालय जानकारी गराएको छ । पैसा बुझेको बर्षौंसम्म जग्गा नदिएर दुख दिएको पीडित महिलाले गुनासो गर्दै भनिन् ‘भूमि आयोगले नापचांच गरेर पछि लालपुर्जा पाइने जग्गा भनेर मैले ऋणधन गरेर जग्गा किनेकी हु । तर उहांले कहिले वन क्षेत्रको जग्गा त कहिले आयोगले नापचांच नगरेको जग्गा लैजाउ भन्दै दवाव दिने गर्नुभएको छ ।
पीडित राधाले भनिन् जग्गाको लागि विभिन्न निकायमा धाउंदा धाउंदै एक लाख जति खर्च भैसक्यो । यही जग्गा किन्न दिएको पैसाका कारण घरपरिवारमा सम्बन्ध टुटेको गुनासो गर्दै उनले भनिन् अहिले मेरो श्रीमानसंगपनि सम्बन्ध छैन, छोराछोरी पनि मसंग अलग छन् । यही कारणले परिवारमा बिग्रह भयो, स्कूलको जागिर पनि छोड्नु प¥यो, अहिले म असाध्यै पीडामा छु । न्याय पाहिन्छकी भनेर मिडियामा आएकी हु उनले भनिन् ।
पीडित राधाले चलन चल्तीको हिसावमा की मलाई पैसा दिनुस की बैना गर्ने बेला देखाएको जग्गा दिनुस भन्दा उल्टै अपशब्द प्रयोग गरेर थर्काउने र गालीगलोज गर्दै तइले जे गर्न सक्छेस त्यही गर, तेरो पावर कति छ लगा भन्दै सुरज बरालले गाली गर्ने गरेको उनले बताइन ।
तिलोत्तमा वडा नम्बर ११ का वडाध्यक्ष विष्णु बरालले आफ्नै वडामा समस्या आएपछि कैयौ पटक सहमति गरेर मिलाउने प्रयास गरेपनि सुरज बराल र सौगात बराल सहमतिमा आउन नचाहेको बताए । जग्गा बिक्री गर्दा देखाएको जग्गा ठिक ठाउंमा रहेको र अहिले देखाएको जग्गा वन क्षेत्रमा परेकाले उक्त जग्गा कसैले पनि बिक्री गर्न नमिल्ने वडाध्यक्ष बरालले मिसन टुडेलाई जानकारी गराए ।
सुरज बरालले भने आफुले जग्गा दिन्छु भन्दा पनि राधा नेपालीले जग्गा लिन नमानेको दावी गरेका छन् ।






















