कुलमानको उज्यालो पार्टीले संविधान संशोधनका ७ बुंदासहित घोषणा पत्र सार्वजनिक

देशको नेतृत्व गर्ने मन लागेको छ – कुलमान

बुटवल, मंसिर १७ गते । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले देशको नेतृत्व वगर्न मन लागेको बताएका छन् । उज्यालो पार्टी नेपालको घोषणासभामा बोल्दै उनले देशकै नेतृत्व गर्ने चाहाना व्यक्त गरेका हुन् ।

उनले अघिल्लो ओली सरकारसंग झगडा परेको बताउंदै त्यो सरकारसंग झगडा भएकै कारण अहिले मनत्री पद पाएको बताउंदै उनले भने मन्त्री पदलार्ई अवसरको रुपमा लिएको छु ।

यस्तै कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ ले संबिधान संशोधनका ७ बुँदा सहितको घोषणापत्र सार्वजनिक गरेको छ । उज्यालो नेपाल पार्टीले काठमाडौंमा आज बुधबार पार्टी स्थापनाको घोषणासँगै पार्टीको घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।
जेनजी विद्रोहको जगमा स्थापना भएको दाबी गर्दै पार्टीले विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव गरेको छ । पार्टीले आफ्नो प्राथमिक लक्ष्य सुशासन, समृद्धि र सामाजिक न्याय रहेको स्पष्ट पारेको छ।

पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा हालको शासकीय व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न असम्भव प्रायः रहेको निष्कर्ष समेत निकालेको छ । उज्यालो नेपाल पार्टीले प्रस्ताव गरेको सात बुँदे संशोधन एजेन्डामा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्ने र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गर्ने उल्लेख छ।

प्रदेशमा सांसद रहने व्यवस्था हटाई स्थानीय तहका प्रमुख र उपप्रमुखको प्रतिनिधित्व हुने ’प्रदेश परिषद्’ बनाउनुपर्ने र सोही परिषद्ले ऐन पारित गर्ने प्रस्ताव पार्टीले अघि सारेको छ।

पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा न्यायपालिकामा हुने दलीय हस्तक्षेप रोक्न न्यायपरिषद्को पुनर्संरचना गर्ने र स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने उल्लेख गरेको छ । घोषणापत्रमा राज्यको क्षमता बढाएर गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्वभित्र पार्ने र स्वदेशी पुँजी परिचालन गरी रोजगारी सिर्जना गर्ने पार्टीको मुख्य ध्येय रहने जनाइएको छ ।

पुराना राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि जनमुखी शासकीय क्षमता प्रदर्शन गर्न नसकेको आरोप लगाउँदै पार्टीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारबाट आर्जित सम्पत्ति छानबिन गरी जफत गर्ने नीति अख्तियार गर्ने जनाएको छ।
घोषणापत्रमार्फत पार्टीले आफ्नो साङ्गठनिक संरचना चुस्त र प्रविधिमैत्री हुने तथा उत्कृष्टताका आधारमा नेतृत्व चयन गर्ने प्रतिवद्दता जाहेर गरेको छ ।