धरानका मेयर हर्कविरुद्ध अख्तियारमा उजुरी

बुटवल, मंसिर १८ गते । धरानका मेयर हर्क साम्पाङविरुद्ध अख्तियारमा उजुरी परेको छ । साम्पाङको अगुवाइमा सुरू भएको सुम्निमा पारूहाङ प्रतिमा निर्माणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो देखाएको हो ।

मंसिर १४ को मितिमा अख्तियारले पठाएको पत्रमा सुम्निमा पारूहाङ प्रतिष्ठानमा रकम अपचलन भएको उजुरी दर्ता भएको उल्लेख गर्दै कागजात मागेको हो ।

अख्तियारले १५ दिनभित्र प्रतिष्ठानको दर्ता प्रमाण–पत्र, दर्ता मिति, कुन कानुन अन्तर्गत दर्ता भएको हो, कोको पदाधिकारी छन्, संस्थाको विधान र नियमावली, संस्थाको उद्देश्य, सदस्यता र संरचना, आर्थिक व्यवस्थापन कसरी गरिएको छ, निर्णय प्रक्रिया के हो भन्ने लगायतका कागजात पेस गर्न भनेको छ ।

अख्तियारले पत्राचार गर्ने गरी परेको उजुरीमा मेयर साम्पाङ र केही कर्मचारीको मिलेमतोमा प्रतिष्ठान दर्ता भएको, स्थानीय तह कार्यपालिकाको नेतृत्वमा बसेका व्यक्तिले आफ्नै अध्यक्षतामा प्रतिष्ठान दर्ता गरेको आरोप छ ।

अख्तियारको पत्र पाएपछि मेयर हर्कले बिरोध जनाउंदै सरकारले नबनाएपछि आफै अघि सर्नुपरेको बताएका छन् । आफुले कुनै गलत काम नगरेको बताउंदै अख्तियारको पत्रले केही नहुने तर्क गरेका छन् ।