शंकरनगर सामूदायिक वनको साधारण सभामा विद्यार्थीलाई सम्मान


बुटवल, पुस ११ गते । रुपन्देहीको शंकरनगर सामूदायिक वन उपभोक्ता समूह तिलोत्तमा १, ४ को २५ औं वार्षिक साधारण सम्पन्न भएको छ । वार्षिक साधारण सभा शुक्रबार वनको कार्यालयमा भएको हो ।

वार्षिक साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले पहिला सामूदायिक अतिक्रमण गर्दा जमिनै कब्जा गर्ने परिपाटीको अन्त्य भैसकेको बताउंदै सामूदायिक वनहरु संरक्षण गर्ने दायित्व सबैको भएको बताए । गिरीले वन सिंगो समूदायको सम्पति भएकोले यसको दीगो रुपमा संरक्षण गर्नुको विकल्प नभएको बताउंदै सरकारसंग सहकार्य गरेर शंकरनगर सामूदायिक वन संरक्षण गर्नुपर्नेमा जोड दिए ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले वनलाई सम्वृघिसंग जोडेर रोजगारी सिर्जना गरेर गरिवी निबारण गर्न सकिने बताए ।

वन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख प्रविण विडारीले वनलाई मानव जीवनसंग जोडेर उचित रुपमा संरक्षण गरेर फाइदा लिनुपर्ने बताए । उनले नेपालमा रहेका २३ हजार सामूदायिक वन मध्ये शंकरनगर सामूदायिक वनले उत्कृष्ट काम गरको भन्दै वन संरक्षणमा सबैलाई गोलबन्द गर्न उपभोक्ता समूहलाई सुझाव दिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, कांगे्रसका हरिलाल पाण्डे, एमालेका मिनप्रसाद पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका बेलप्रसाद शर्मा, अधिवक्ता तथा वनका कानुनी सल्लाहकार खुमाकान्त पौडेल, महिला पाषर््द सदस्य चन्द्रकला कडेल, रुकमागत पाण्डे, धनिकला पाण्डे लगायतले बोल्दै सामूदायिक वनहरु संरक्षण गर्ने दायित्व समूदायको नै भएको बताए ।
उक्त वार्षिक उत्सवमा शंकरनगर सामूदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष भुवन आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै वन आर्थिक रुपले फाइदामा रहेको बताए । कोषाध्यक्ष आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१।०८२ को असार मसन्तासम्म ९६ लाख ५१ ह्जार ३ सय ५९ रुपैयां ७८ पैसा फाइदाको रुपमा बचत रहेको उल्लेख गरिएको छ ।
साधारण सभाको अवसरमा ले १७ जना विद्यार्थीलाई सम्मान गरेको छ । दीर्घकालिन रुपमा वन संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको वन उपभोक्ता समूहले सामाजिक क्षेत्रमा पनि सक्रिय छ । सामूदाविक वन उपभोत्ता समूहको शुक्रबार आयोजित २५ औं वार्षिक साधारण सभामा सरकारी स्कुलहरुमा अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको हो ।
गरिब तथा जेहेन्दार ८ जना विद्यार्थीलाई प्रति विद्यार्थी रु ५ हजारले सम्मान गरिएको छ । त्यस्तै सरकारी स्कुलबाट उत्कृष्ट अंक ल्याएर एसईई पास गर्न सफल ९ जना विद्यार्थीलाई पनि जनही रु ५ हजार र प्रमाण पत्रले सम्मान गरिएको हो । सामूदायिक वन उपभोत्ता समूहका आठ जना पदाधिकारीले ८ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेका हुन्, भने अन्य ९ जना विद्यार्थीलाई संस्थाले नगदसहित सम्मान गरेको हो । विद्यार्थीका साथै इमान्दार कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ ।
शिक्षा क्षेत्रलाई प्राथमिकता दिंदै आएको तिलोत्तमाको शंकरनगर सामूदायिक वनले २ जना विद्यार्थीलाई निःशुल्क एमविविएस पढाउने योजना बनाएको छ । सामूदाविक वनको सेवा क्षेत्रभित्र सञ्चालनमा आउन लागेको बुटवल मेडिकल कलेजमा कोटा निर्धारण गरेर २ जना विद्यार्थीलाई निःशुल्क पढाउने योजना बनेको २५ औं वार्षिक साधारण सभाको प्रतिवेदनमा उल्लेख गरिएको हो ।
शंकरनगर सामूदायिक वन क्षेत्रभित्र पर्ने तिलोत्तमा १, ४ का २ जना विद्यार्थीलाई एमविविएस निःशुल्क पढाउने गरी व्यवस्था मिलाउने समूहका अध्यक्ष रविन्द्र बस्नतेले जानकारी गराएका छन् । शंकरनगर सामूदायिक वन उपभोक्ता समूह ५८४।६० हेक्टरमा जमिनमा फैलिएको छ ।
सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेतको अध्यक्षता, उपाध्यक्ष कमला ज्ञवालीको स्वागत र सचिव कालिका अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।





















