निर्वाचन सुरक्षामा उच्च सतर्कता, आयोगमा विशेष छलफल

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र पारदर्शी रुपमा सम्पन्न गराउन निर्वाचन आयोगले सुरक्षा रणनीतिबारे उच्चस्तरीय छलफल गरेको छ। कान्तिपथस्थित आयोगको कार्यालयमा बुधबार आयोजित बैठकमा आसन्न निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थापनका चुनौती र समाधानका उपायहरुमाथि गम्भीर मन्थन भएको हो।

छलफलमा विशेषगरी निर्वाचन बिथोल्न सक्ने आपराधिक गतिविधिहरुको पहिचान, त्यस्ता तत्वहरुलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउने र मतदाताहरुले निर्धक्कसँग मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्ने विषयमा जोड दिइएको छ। सबै सरोकारवाला निकायहरुबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै एकीकृत सुरक्षा योजना कार्यान्वयन गर्ने प्रतिबद्धता समेत बैठकमा व्यक्त गरिएको छ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको उपस्थिति थियो। त्यसैगरी गृह सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव कृष्णबहादुर राउत र प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

निर्वाचन आयोगले मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी र उम्मेदवारहरूको सुरक्षाका लागि विशेष ुथ्रेट एसेसमेन्टु गरी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले पनि निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त राख्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ।