सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुको नयाँ प्रणाली सक्रिय भएसँगै आज माघ ९ गते देशभरको मौसममा उल्लेख्य बदलाव आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज दिउँसोदेखि नै साधारणतया बदली भई वर्षा र हिमपातको प्रक्रिया सुरु हुनेछ। तराईका अधिकांश भू(भागमा भने दिउँसोको समयमा मौसम मुख्यतया सफा रहने भए पनि पहाडी भेगमा आंशिक बदली रहने देखिन्छ।

महाशाखाका अनुसार आज रातिबाट मौसमी प्रणाली थप शक्तिशाली हुनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक(दुई स्थानमा असिनासहितको वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपात हुने प्रक्षेपण गरिएको छ।

वर्षा र हिमपातका कारण चिसो बढ्ने तथा हवाई र सडक यातायात, पर्यटन एवं स्वास्थ्य सेवामा समेत असर पर्न सक्ने विज्ञहरूको भनाइ छ। महाशाखाले दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। यो हिउँदे वर्षाले सुक्खापन कम गर्न मद्दत गरे पनि यात्रा र ढुवानीका क्षेत्रमा भने चुनौती थप्न सक्ने देखिएको छ।