प्रहरी उपरीक्षक भण्डारीलाइ बुटवलमा सम्मान र बधाइ


बुटवल, माघ ११ गते । प्यूठान – रुपन्देही सम्पर्क मञ्चले नेपाल प्रहरीका प्रहरी उपरिक्षक धर्मराज भण्डारीलाई सम्मान गरेको छ । प्रहरी नायब उपरिक्षकबाट बढुवा भएर प्रहरी उपरिक्षक एसपी भएका प्यूठान निवासी भण्डारीलाई बधाइ ज्ञापन गर्दै सम्पर्क मञ्चले आइतबार बुटवलमा सम्मान गरेको हो ।

बुटवलको कालिकानगरस्थित मझेरी फुडल्याण्डमा कार्यक्रमको आयोजना गरी प्यूठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेलले प्रहरी नायव उपरिक्षक भण्डारीलाई दोसल्ला ओढाएर मांयाको चीनो प्रदान गर्दै सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक धर्मराज भण्डारीले नेपाल प्रहरीको संगठनमा आफुले जागिर मात्रै नखाएको बताउंदै राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गरेको बताए । जनताको विश्वास जित्नु नै प्रहरीको सबैभन्दा ठूलो सफलता भएको उल्लेख गर्दै, मानव अधिकारको पक्षमा समाजमा शान्ति सुरक्षा कायम गर्न, निष्पक्षता र व्यावसायिक आचरणमा आफुले कसैसंग कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।

नेपाल प्रहरीको सेवामा लागेदेखि घरपरिवार, सहकर्मी, अग्रज र समाजको सहयोगका कारण पनि आफुलाई अहिलेसम्म सफलता मिलेको बताउंदै उनले भने म अनुसाशितपूर्वक इमान्दार र निष्ठावान भएर काम गर्छु । प्रहरी उपरिक्षक भण्डारीले प्यूठान रुपन्देही सम्पर्क मञ्चले दिएको सम्मानलाई कहिल्यै खेर जान नदिने प्रतिबद्दता जनाए ।
सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेलले प्युठानीका छोराले राष्ट्रसेवामा पु¥याएको योगदान सबैका लागि प्रेरणादायी रहेको बताउंदै शान्ति सुव्यवस्था कायम गर्न, आपसी एकता र सद्भाव कायम गर्ने अभियानमा सफलता मिलो भन्दै भन्दै बधाइ ज्ञापन गरे ।
रुपन्देही प्युठान– रुपन्देही सम्पर्क मञ्चका पूर्व अध्यक्ष लोकराज पोखरेलले धर्मराज भण्डारीलाई इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा चित्रण गर्दै भण्डारीजस्ता कर्मठ र निष्पक्ष अधिकारीको पदोन्नति केवल व्यक्तिगत सफलता मात्र होइन, यो सम्पूर्ण प्युठानीका लागि गर्वको विषय भएको बताउंदै खुशी व्यक्त गरे । प्रहरी संगठनमा नैतिकता, पारदर्शीता र सेवाभाव बोकेका नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भण्डारीको बढुवाले समाजलाई सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
सम्पर्क मञ्चका संस्थापक सचिव तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले सुरक्षाका अंग र सञ्चार क्षेत्रबीचको सहकार्य लोकतन्त्रको आधारस्तम्भ भएको बताए । कानूनको पालना र अभिव्यक्ति स्वतन्त्रता दुवैको संरक्षणमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउंदै भण्डारीको नेतृत्वमा उत्तरदायी र पारदर्शी प्रहरी प्रशासनको अपेक्षा रहेकोमा जोड दिए ।
मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय अध्यक्ष गोविन्द खनालले कानून कार्यान्वयनसँगै मानव अधिकारको संरक्षण अपरिहार्य रहेकाले शान्ति, न्याय र सामाजिक सद्भावलाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पुरा गर्न प्रहरी उपरिक्षक भण्डारीलाई सुझाब दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले प्रहरी र पत्रकारबीचको सम्बन्ध आपसी सम्मान र विश्वासमा आधारित हुनुपर्ने धारणा राख्दै सुरक्षाका विषयमा तथ्यपरक सूचनाको प्रवाह र पारदर्शीताका लागि प्रहरी प्रशासनको भूमिका जिम्मेवार हुनुपर्ने बताए ।
सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष पदमप्रताप जीसीको स्वागत र उपाध्यक्ष जेवि क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्युठानबाट रुपन्देहीमा स्थायी वा अस्थायी रुपमा बसोवास गर्दै आएका पत्रकारिता, व्यवसाय, सामाजिक सेवा तथा विभिन्न पेशामा संलग्न रहेका सहभागिहरुले प्रहरी उपरिक्षक भण्डारीलाई पेशाप्रति इमान्दार भएर प्यूठानीको शीर ठाडो हुनेगरी काम गर्न आग्रह गर्दे बधाइ ज्ञापन गरेका थिए ।





















