कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’


काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार भएको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ।

प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए। “जहाँ जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ, उनले भने।
उनका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले पार्टीले आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहितासमेत जारी गरेको बताए।

पार्टीलाई आन्तरिक रुपमा सुदृढ बनाउन आन्तरिक आचारसंहिता लागू गरिएको छ, उनले भने, साथै राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन दिइसकिएको छ। कांग्रेसले यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि उनले जानकारी दिए। सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने उनको भनाइ छ।
प्रवक्ता चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको दाबी गरे। महाधिवेशनमा सहभागी नहुनेहरु समेत पार्टी गतिविधिमा जोडिन थालेका छन्, उनले भने, अन्य दलका नेता(कार्यकर्ताहरु पनि कांग्रेसमा प्रवेश गर्ने क्रम जारी छ।
कांग्रेसले संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति लिएको प्रवक्ता चालिसेको भनाइ छ।
कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’
कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो चुनावी सङ्कल्पका रुपमा ‘भिजन–१०’ अवधारणालाई अघि सार्ने भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेसको आगामी घोषणापत्रले मुलुकको यथार्थ अवस्थाको चित्रण गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने जानकारी दिएका छन्।
प्रवक्ता चालिसेका अनुसार यस पटकको घोषणापत्र केवल महत्त्वाकाङ्क्षा र प्रतिबद्धताको फेहरिस्तमा मात्र सीमित रहने छैन। यसलाई कार्यान्वयन गर्न आवश्यक पर्ने आर्थिक स्रोतको सुनिश्चितता र परिचालनका उपायहरूसमेत स्पष्ट रूपमा उल्लेख गरिने उनले बताए। ूहामीले घोषणापत्रमा गर्न सकिने कुरा मात्र राख्नेछौँ र त्यसका लागि स्रोत व्यवस्थापन कसरी हुन्छ भन्ने ठोस मार्गचित्र पनि समेट्नेछौँ, उनले भने।
हाल घोषणापत्र निर्माणका लागि कांग्रेसले देशभरका जिल्ला–जिल्लाबाट सुझाव सङ्कलन कार्यलाई तीव्रता दिएको छ। स्थानीय तह, क्षेत्र र जिल्लाबाट प्राप्त सुझावहरूलाई एकीकृत गरी राष्ट्रिय आवश्यकता र प्राथमिकतासँग जोडेर अन्तिम रूप दिइने पार्टीको तयारी छ।
प्रवक्ता चालिसेले कांग्रेसले आफ्नो क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रमहरु मात्र जनतामाझ लैजाने बताए। उनले यो घोषणापत्रले हरेक नागरिकको मन छुने तथा सबै वर्ग, क्षेत्र र समुदायको भावनालाई समेट्ने दाबी गरे । कांग्रेसले घोषणापत्रमार्फत वर्तमान चुनौतीको सामना र भविष्यको दिशा निर्देश गर्दै स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाकासहितको विश्वासिलो विकल्प प्रस्तुत गर्ने बताएको छ।





















