निर्वाचन आयोगको चेतावनीः आचारसंहिता उल्लङ्घन गर्नेलाई छोडिन्न


काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका घटनालाई कुनै पनि हालतमा नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लङ्घन गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाइएको बताए।

उनले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र त्यसको छिनोफानो गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको जानकारी दिए। आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको छ। प्रवक्ता भट्टराईका अनुसार प्राप्त जवाफहरुको अध्ययन गरी केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ।
प्रवक्ता भट्टराईले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेको जानकारी दिए। आयोगको तथ्याङ्क अनुसार यस पटक चुनावी मैदानमा पुरुषको तुलनामा महिला उम्मेदवारको सङ्ख्या बढी देखिएको छ। कुल उम्मेदवारमध्ये महिलाको सङ्ख्या १ हजार ७७२ र पुरुषको सङ्ख्या १ हजार ३६३ रहेको छ, जसमा समानुपातिकतर्फ महिलाको उपस्थिति अझ बढी छ।

उनले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र सुधार गर्न आयोग सधैँ तयार रहेको प्रतिबद्धता जनाउँदै आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरे। ‘आचारसंहिता उल्लङ्घनका घटनामा निर्वाचन आयोगले नजरअन्दाज गरेको छैन र कानून अनुसार कारबाही अघि बढ्छ,’ उनले भने।
आयोगले जिल्लामै उजुरी फस्र्यौट गर्ने दर बढेकाले काममा सहजता आएको महसुस गरेको छ। कस्तो अवस्थामा कारबाही गर्ने र कस्तोमा थप स्पष्टीकरण सोध्ने भन्ने कुरा निर्वाचन कसुर तथा सजाय ऐनमा स्पष्ट रहेकाले सोही आधारमा निर्णय लिइने प्रवक्ताको भनाइ छ। उनले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सञ्चारमाध्यम र नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गरे। आयोगले निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको र सुरक्षा व्यवस्थालाई पनि कडाइ गरिएको जनाएको छ।




















