अर्थमन्त्री खनालद्धारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमअन्तर्गत अर्थमन्त्री खनालले शुक्रबार दुवै जिल्लाको भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए ।

रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ ओटा मतदान स्थललाई अति संवेदनशीलका रुपमा वर्गीकरण गरिएको बताए ।

त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दीपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए ।

त्यसैगरी जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ ओटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए ।

अर्थमन्त्रीले खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीको अवस्थाबारे छलफल गरेका थिए ।

दुवै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रुपमा अघि बढिरहेको, स्थानीय तहमा राजनीतिक दल तथा उम्मेद्वारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको र आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताएका छन् ।