गर्जे लिङ्देनः राप्रपा विदेशीले बनाइदिएको पार्टी होइन, हामीलाई जिस्काउने भुल नगर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर नबनेको स्पष्ट पारेका छन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपा नेपाली माटोमा सङ्घर्षबाट जन्मिएको शक्ति भएको दाबी गरे।

राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिँदै उनले कुनै पनि चुनौतीको सामना गर्ने सामर्थ्य आफ्नो पार्टीसँग रहेको बताए। ज्ञानबहादुर शाही लगायतका नेताहरूमाथि भएका अवरोधको चर्चा गर्दै उनले राप्रपालाई जिस्काउने प्रयास नगर्न विपक्षीहरूलाई सचेत गराए।

सम्बोधनका क्रममा लिङ्देनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारले गरिरहेको धरपकड र अवरोधको घोर निन्दा गरे। सरकारले नियतवश नै प्रसाईंलाई निरुत्साहित पार्न खोजेको आरोप लगाउँदै उनले संविधानले दिएको वाक स्वतन्त्रता र हिँडडुलको अधिकार खोस्न नपाइने जिकिर गरे।

शान्तिपूर्ण ढङ्गले निर्वाचनको विरोध गर्ने वा सहभागी नहुने कुरा नागरिकको मौलिक अधिकार भएको उनको तर्क थियो। उनले प्रसाईंमाथि भइरहेको ज्यादती लोकतन्त्रको उपहास भएको भन्दै त्यसको भर्त्सना गरे। देशमा बढ्दो विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै उनले अब देशको निर्णय नेपालीकै हातमा हुनुपर्नेमा जोड दिए।

अध्यक्ष लिङ्देनले फेसबुक, रिल र टिकटकका आधारमा मात्र धारणा नबनाई देशको भविष्यलाई केन्द्रमा राखेर सोच्न मतदाताहरूलाई आग्रह गरे। काठमाडौं क्षेत्र नं। २ की उम्मेदवार कुन्ती पोखरेललाई निष्ठावान् र सेवामा समर्पित व्यक्तित्वको रूपमा प्रस्तुत गर्दै उनले पोखरेललाई मतदान गर्नु भनेको देश र धर्म जोगाउने अभियानमा सहभागी हुनु भएको बताए।

निर्वाचन आचारसंहिताको सम्मान गर्दै उनले ुहलोु चिह्नमा मतदान गर्न सांकेतिक रूपमा अपिल गरे। उनले आगामी प्रधानमन्त्री को हुने भन्ने कुरा समेत विदेशीले मिलाइदिन थालेको भन्दै यस्तो पराधीन मानसिकताबाट देशलाई मुक्त गर्नुपर्ने आवश्यकता औँल्याए।