कञ्चनजङ्गा क्षेत्रमा भूकम्प


काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर ४७ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न स्थानहरुमा समेत महसुस गरिएको थियो।
केन्द्रले यो भूकम्प गएको स्थान नेपाल र भारतको सीमा क्षेत्र नजिकै रहेको जानकारी दिएको छ। मध्यरातमा भूकम्प गएका कारण स्थानीय बासिन्दा केही समय त्रसित बनेका थिए।

भूकम्पबाट हालसम्म कुनै पनि भौतिक वा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन। पूर्वी पहाडी क्षेत्रमा बेलाबेला यस्ता साना पराकम्प र भूकम्पहरु गइरहने हुनाले सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन्।























