तराईमा हुस्सु र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा भने मुख्यतया मौसम सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लाग्ने र बाँकी भागमा पनि आंशिक बदली रहने देखिएको छ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा बादल लाग्नुका साथै ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

अन्य भू–भागमा भने मौसम आंशिक बदली रहनेछ। तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले तराई र काठमाडौँ जस्ता उपत्यकाहरूमा वायु प्रदूषणको स्तर बढिरहने देखिएको छ। महाशाखाले प्रदूषणबाट सुरक्षित रहन सर्वसाधारण तथा सरोकारवाला सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।