बुटवल उपमहानगरले मनायो ६७ औं स्थापना दिवस

श्यामलाल पोखरेल
बुटवल, फागुन ३ गते । बुटवल उपमहानगरपालिकाले ६७ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आएको उपमहानगरले आइतबार आफ्नै कार्यालय परिसरमा स्थापना दिवस मनाएको हो ।

निर्वाचन आचारसहिंताका कारण कार्यालयमै कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको मूल समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले एक वर्षमा भएका कामहरुको बारेमा जानकारी गराएका छन् ।

बुटवललाई आर्थिक र सांस्कृतिक शहर बनाउने योजनासहित काम गरिएकाले देशभरका ११ वटा उपमहानगरपालिका मध्ये बुटवललाई कार्यसम्पादन मुल्याकंनमा सबै भन्दा राम्रो बनाउन सकिएको बताए ।

सबै जनप्रतिनिधि, सबै कर्मचारी र बुटवलवासीको परुर्णसाथ सहयोगले कार्यसम्पादनमा पहिलो बन्न सकिएको बताउंदै बुटवललाई उज्यालो र सबै प्रकारको अभावमुक्त शहर बनाउनका लागि सबैको साथसहयोग चाहिने बताए । देशको मध्ये भागमा रहेको बुटवल आर्थिक केन्द्रको रुपमा विकास गरेर सम्वृद्दिको शहर बनाउने गरी आफुहरुले योजनाका साथ काम गरिरहेको बताए ।

प्रमुख पाण्डेले पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहकारी, पशुपंक्षी, सरसफाई, फोहोरमैला, खेलकुंद, सञ्चार, उद्योग क्षेत्र र विकास निर्माणमा बुटवललाई अरु स्थानीय तहभन्दा बलियो बनाउने प्रतिवद्दता जनाए ।

बुटवलको सबै भन्दा समस्याको विषय बनेको ज्योतिनगरको पहिरो व्यवस्थापन, खानेपानी, सडक, अमरपथ डुवान, सुकुम्वासी समस्या, छाडा चौपांया व्यवस्थापन, बांदर, निलगाई समस्या निराकरणमा काम भएको बताए ।

त्यस्तै मोतिपुर औद्यागिक क्षेत्र समेलार कृषि व्यवसायीक क्षेत्र, बदेलपोखरी स्ठेडियम, बधशाला निर्माण, आम्दा अस्पताल व्यवस्थित रुपमा सञ्चालनका लागि मुख्य समस्या थिए अहिले केही सफलता मिलेको र यि सबै समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिवद्दता जाहेर गरे ।

नगर प्रमुख खेलराज पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, महिला बालवालिका तथा समावेशीकरण, श्रम तथा रोजगार प्रवद्र्दन, पशुपंक्षी, खेलकुंद, सहकारी, सूचना प्रविधि, प्रशासन, न्यायिक, पञ्जीकरण, भूमि व्यवस्थापन, अनुगमन तथा मुल्याकंन, आन्तरिक राजश्व, वित्तिय व्यवस्थापन लगायतका क्षेत्रमा एक वर्षमा भएका काम तथा सफलताबारे सार्वजनिक गरेका छन् ।

उपमहानगर प्रमुख पाण्डेले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडबाट ठूलो भौतिक क्षती हुनुका साथै आन्तरिक रुपमा समान तथा कम्युटर, कागजपत्र जलेकाले काम गर्न समस्या भएको बताउंदै आगजनी, तोडफोडमा संलग्न व्यक्तिलाई चिनेको भए सूचना दिन आग्रह गर्दै त्यस्ता सूचना गोप्य राखिने नगरवासीलाई आग्रह गरेका छन् ।

सोही कार्यक्रममा स्वागत मन्तव्य राख्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले समग्र देशको विकासमा सहयोग पुग्ने गरी बुटवल उपमहानगरपालिकाले काम गरेको बताइन । उनले मानवीय, भौतिक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुंद, महिला सशक्तिकरण लगायतका सबै क्षेत्रमा नतिजा देखिने गरी काम भएको दावी गरिन् ।

उपप्रमुख अर्यालले अझै कामले पूर्णता नपाएकाले सबै क्षेत्रका सबै कामलाई देखिने गरी १४ महिनाको अबधीमा काम गरेर नगरवासीलाई देखाउने बताइन ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यष दिनेश पाण्डे, कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन वझा, पश्चिम नेपाल वसव्यवस्यी प्रालिका अध्यक्ष दधिराम खरेल लगायतले बोल्दै बुटवलको विकासमा सबैले साथ सहयोग दिनुपर्नेमा जोड दिए ।

उपमहानगर प्रमुख खेलराज पाण्डेको अध्यक्षता र ठगिश्वर पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।