वित्त आयोगको मूल्याङ्कनः ७८ प्रतिशत अङ्कसहित विराटनगर महानगर शीर्ष स्थानमा


काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको पछिल्लो मूल्याङ्कनमा मोरङको विराटनगर महानगरपालिका देशभरका महानगरहरुमध्ये शीर्ष स्थानमा पर्न सफल भएको छ। आयोगले निर्धारण गरेका विभिन्न सूचकहरूमा ७८.११ प्रतिशत अङ्क प्राप्त गर्दै विराटनगर प्रथम भएको हो।

ललितपुर महानगरपालिकाले ७६.३३ प्रतिशत अङ्कका साथ दोस्रो स्थान हासिल गर्दा बागमती प्रदेशकै काठमाडौँ महानगरपालिकाले भने मात्र ४४।९७ प्रतिशत अङ्क पाएको छ। अन्य महानगरहरूमा भरतपुरले ६८.०८, पोखराले ५८.७६ र वीरगन्जले ५४ प्रतिशत अङ्क प्राप्त गरेका छन्। काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये ७०.६३ अङ्क ल्याएर नागार्जुन नगरपालिका सबैभन्दा अगाडि देखिएको छ।
उपत्यकाका अन्य नगरपालिकाहरुमा चन्द्रागिरिले ६७.५९, टोखाले ६५.६७ र कीर्तिपुरले ६२.१५ प्रतिशत अङ्क पाएका छन् भने भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका ६८.३२ अङ्कसहित अगाडि रहेको छ। ललितपुरका गाउँपालिकाहरूमा महाँकालले ७२.९९ र कोन्ज्योसोमले ६८.७९ प्रतिशत अङ्क प्राप्त गरी राम्रो प्रदर्शन गरेका छन्। आयोगले यो मूल्याङ्कनका लागि १७ वटा कडा सूचकहरु निर्धारण गरेको थियो। जसमा समयमै बजेट पेस गरेरनगरेको, राजस्वको हिस्सा प्रदेशलाई बुझाएरनबुझाएको, बजेटको वार्षिक समीक्षा र बेरुजुको अवस्था जस्ता प्रशासनिक पक्षहरूलाई मुख्य आधार बनाइएको छ।

प्रशासनिक काम मात्र नभई सामाजिक विकासका सूचकहरूलाई पनि मूल्याङ्कनमा समेटिएको छ। जसमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर (कक्षा १० को नतिजा), विद्यार्थी टिकाउदर, पूर्ण खोप पाएका बालबालिकाको अनुपात र गर्भवती महिलाको स्वास्थ्य जाँच जस्ता विषयहरु समावेश छन्। स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र कति राजस्व परिचालन गर्न सके र आवधिक योजना तर्जुमा गरे कि गरेनन् भन्ने पक्षले पनि अङ्क निर्धारणमा ठूलो भूमिका खेलेको छ। यिनै विविध सूचकहरुको तथ्याङ्क अनलाइन पोर्टलमा प्रविष्ट गरेपछि आयोगले देशभरका पालिकाको कार्यसम्पादन मापन गरी यो नतिजा सार्वजनिक गरेको हो।























