पश्चिमी वायुः पहाडी क्षेत्रमा बादल र तराईमा कुहिरो

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भू–भागको मौसममा सामान्य फेरबदल देखिएको छ। अहिले गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भने देशका अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान तराईका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागे पनि अन्य क्षेत्रमा भने मौसम सफा रहने महाशाखाले जानकारी दियो।

रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईका थोरै स्थानहरूमा तुँवालो लाग्न सक्ने मौसमविद्हरूले बताए।
बाँकी सबै क्षेत्रमा भने रातिको मौसम पनि मुख्यतया सफा नै रहने महाशाखाको प्रक्षेपण छ।