यसपटक ऐतिहासिक मतदान हुन्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी


काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताहरु मतदान गर्ने दिनको व्यग्र प्रतीक्षामा रहेको बताए। १०औँ निर्वाचन दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा बढी मतदान हुने दाबी गरे।

आसन्न निर्वाचनमा खसेको मतमध्ये लगभग सबै सदर हुने आयोगको अपेक्षा रहेको उल्लेख गर्दै उनले अघिल्ला निर्वाचनको तुलनामा यसपटक बदर मतको सङ्ख्या निकै कम हुने बताए। आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रममार्फत मतदान गर्ने सही तरिका सिकाइएकाले पनि मत खेर नजाने उनको भनाइ छ। यद्यपि, मतदातालाई मतदान केन्द्रसम्म सहज रुपमा पुग्ने वातावरण बनाउन भने सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।
राजनीतिक दल, उम्मेदवार, नेता तथा कार्यकर्ताहरुले मतदातामैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले उपयुक्त वातावरण नभए मतदान गर्न चाहनेहरु पनि पछि हट्न सक्ने औँल्याए। उनले भने, ूहाम्रो अनुसन्धानले यसपटक सबैभन्दा बढी मतदान हुने देखाएको छ। मतदाताहरु पनि निकै चनाखो भएका छन्, कतिबेला मतदानको दिन आउला र भोट हालौँला भनेर पर्खिरहेका छन्।

निर्वाचन आयोगले बिहीबार विभिन्न कार्यक्रम गरी १०औँ निर्वाचन दिवस मनाएको हो। सो अवसरमा आयोगले एक स्मारिकासमेत सार्वजनिक गरेको छ। दिवसका अवसरमा प्रदान गरिने विभिन्न पुरस्कारहरु भने आगामी वैशाख १ गते विशेष कार्यक्रममार्फत सार्वजनिक गरिने आयोगले जनाएको छ।























