मध्यपूर्वका एक दर्जन देशमा सुरक्षा जोखिम गम्भीर

काठमाडौँ । मध्यपूर्वमा इरान र इजरायल-अमेरिकाबीचको युद्ध चरम उत्कर्षमा पुगेपछि संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरुका लागि तत्काल फिर्ता हुन कडा आपतकालीन यात्रा परामर्श जारी गरेको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको समन्वित हवाई आक्रमण र त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरुमा ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि सुरक्षा जोखिम गम्भीर बनेको हो।

अमेरिकी विदेश मन्त्रालयले बहराइन, कुवेत, इजिप्ट, लेबनान, ओमान, इराक, कतार, इजरायल, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र यमन लगायतका एक दर्जनभन्दा बढी देशमा रहेका आफ्ना नागरिकलाई व्यावसायिक उडानमार्फत तुरुन्त बाहिरिन आग्रह गरेको छ।

यसैबीच, अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा ६ जना अमेरिकी सैनिक मारिएको पुष्टि गरेको छ। इरानको प्रारम्भिक आक्रमणमा बेपत्ता भएका दुई सैनिकको शव हालै फेला परेपछि मृतकको संख्या थपिएको हो।

युद्धको पृष्ठभूमिमा गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका सैन्य कमाण्ड केन्द्र, मिसाइल स्थल र परमाणु संरचनाहरुलाई लक्षित गरी भीषण आक्रमण गरेका थिए। ती आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित चार वरिष्ठ सैन्य अधिकारीहरुको मृत्यु भएको दाबी गरिएको छ। सोही आक्रमणको बदला लिन इरानले छिमेकी खाडी मुलुकहरुमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई निसाना बनाइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल क्षमता, आणविक महत्वाकांक्षा र आतंकवादलाई दिँदै आएको समर्थन पूर्ण रूपमा अन्त्य नगरेसम्म सैन्य कारबाही जारी रहने स्पष्ट पारेका छन्। यो चेतावनीसँगै मध्यपूर्वमा रहेका विदेशी नागरिक र विशेष गरी लाखौँको संख्यामा रहेका नेपाली श्रमिकहरुको सुरक्षामा पनि ठूलो प्रश्नचिह्न खडा भएको छ।