रुपन्देहीका मतगणना स्थलमा ‘सीसीटीभि क्यामरा’


बुटवल। फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा निर्वाचन हुनु अगावै रुपन्देहीका पाँच वटै मत गणना स्थल सुरक्षित गर्न दश फिट अग्लो तार जाली लगाइएको छ। यसअघि निर्वाचनपछि मात्रै तयार गरिने मतगणना स्थलको यसपालि निर्वाचन अघि नै व्यवस्थित तरिकाले तयार गरिएको छ ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै मतगणनालाई व्यवस्थित गर्न विद्युत् आपूर्ति सहज बनाउन तार जाली अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको बताए ।
मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार जिल्लाको निर्वाचन क्षेत्र न-१ मा देवदह आदर्श बहुमुखी क्याम्पस सित्तलनगर, क्षेत्र न-२ मा बुटवल उपमहानगरपालिकाको वडा न-११ को कार्यालय देवीनगर, निर्वाचन क्षेत्र न-३ भैरहवा स्थित भैरहवा नमुना माध्यमिक विद्यालय, क्षेत्र न-४ मा कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल र क्षेत्र न-५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणना स्थल तयार पारिएको बताइएको छ।

मतगणना परिसरमा सिसी टिभी क्यामरा जडान गरिएको र मतगणनाको क्रममा मतगणनामा खटिएका कर्मचारी, सुरक्षाकर्मी बाहेक अरु कसैलाई तार जाली भित्र प्रवेश गर्न नदिइने, उम्मेदवारका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुलाई तार जाली बाहिरबाट हेर्न दिइने व्यवस्था मिलाइएको अधिकृत बस्नेतले बताए ।






















