दाङ-रुपन्देही सम्पर्क समाजले रक्तदान गरी स्थापना दिवस मनायो
मानवीय सेवा


बुटवल । बढ्दो सवारी दुर्घटना र विभिन्न रोगका कारण बुटवलमा पछिल्लो समय रगतको माग बढ्दै गएको छ । रगतले उपचार सहज हुने मात्र नभएर मानव मृत्युसमेत रोक्न मद्धत गर्दछ । अरुबेला बाह्य जिल्लामासमेत रगत पठाउने बुटवलमा पछिल्लो समय आफ्नै जिल्लाका बिरामीलाई रगत पुर्याउन सकस परेको छ ।

अस्पतालहरुमा मौसम परिवर्तनसँगै मृर्गौला डायलासिस, ब्लड क्यान्सर जस्ता जटिल रोगका बिरामीकोे चाप बढ्दै जाँदा रुपन्देही र आसपासका जिल्लामा रगत अभाव देखिदै गएको छ । यही अभावको बेलामा दाङ रुपन्देही सम्पर्क समाज, रुपन्देहीले समाजको दोस्रो स्थापना दिवसको अवसरमा तेस्रो वृहत रक्तदान कार्यक्रम गरी मनाएको छ । स्थापनाकालको छोटो समयमा समाजले बुटवलमा सामाजिक एवं मानवीय सेवा कार्यमा सहयोग खालका कार्यहरु गर्दै आएको छ ।
देविनगरस्थित चौपारीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाज बुटवलका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले विभिन्न अस्पतालबाट बिरामीका आफन्तहरु रगत लिनका लागि आउनु हुन्छ । एउटा बिरामीलाई तीन चार युनिटसम्म रगत चाहिएको भन्दै आउनु हुन्छ, रक्तसञ्चार केन्द्र बुटवलमा चौबिसै घण्टा रगतका लागि बिरामीका आफन्तहरुको भिड लाग्छ ।

समयमा रगत नपाउँदा कतिपय बिरामीको उपचार सेवा प्रभावित भएको छ । शल्यक्रिया, सुत्केरी र मृर्गौला डायलासिस सेवा बढिरहेको छ । हामीले रगत अभाव हुन नदिन लागिरहेका छौं, तर अस्पतालहरुले रगत व्यवस्थापनमा ध्यान दिएको देखिदैन् । रक्तदान महादान भन्ने अभियानका साथ केही युवा नियमित रक्तदान गर्ने, संघ–संस्थामार्फत् रक्तदान गराउने र आफूहरुले चौबीसै घण्टा आकस्मिक रक्तदान गर्ने गरे पनि अभाव पूरा गर्न सकेका छैनौं ।
अध्यक्ष क्षेत्रीले बुटवलमा एफरिसिफ (सेतो रगत बनाउने मेसिन) को आवश्यक रहेको छ । त्यो मेसिन रुपन्देही व्यापार संघले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई एकबर्ष अघि हस्तान्तरण पनि गरेको छ, तर उक्त मेसिन अस्पतालमा थन्काइएको छ । सो मेसिन सञ्चालन गर्ने हो भने, बुटवलमा रगत अभावको समस्या हटेर जान्छ, मेसिन चालु गरेमा एक जना व्यक्तिले दुई हप्तामा एक पटक रक्तदान गर्न मिल्छ, अहिले जस्तो एकपटक गरेपछि तीन महिना कुर्नु पर्दैन । पाँच जना बरावर एक जनाले कभर गर्छ, उनले भने ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न-११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले समाजले छोटोसमयमा बुटवलमा गरेका विभिन्न कार्यहरु सराहनीय रहेको भन्दै स्थापना दिवसलाई मानवीय सेवामा जोडेर मनाउनु उदाहरणीय तथा आगामी दिनमा समाजले यस्ता जनचेतनामुलक कार्यमा उत्तरदायी बन्न सुझाव दिदै शुभकामना दिए ।
समाजका वरिष्ठ सल्लाहकार झगबहादुर डाँगीले स्वास्थ्यका दृष्टिकोणले १८ वर्षमाथिको स्वस्थ पुरुषले प्रत्येक ३ महिनामा एक र महिलाले प्रत्येक ४ महिनामा एकपटक रक्तदान गर्न सक्ने बताउँदै,रक्तदानले शरीर कमजोर बन्छ भन्ने भ्रमलाई हटाउन चेतनामूलक कार्यक्रमको आवश्यकता रहेको भन्दै व्यक्ति, संघसंस्थाले मात्रै रगत अभावको समस्या समाधान गर्न दीर्घकालिन नहुने भन्दै नेपाल रेडक्रस सोसाइटी र राज्यले रगत व्यवस्थापनलाई सुधार गर्न प्रविधिको उच्चतम प्रयोग लगायतमा एकीकृत योजना बनाउनुपर्ने सुझाए ।
पहिलो स्थापना दिवसलाई बुटवलको नयाँ बसपार्कको परिसरलाई बृहत सरसफाई गरी मनाइएको र यसपालि मानवीय सेवालाई प्राथमिकता दिदै रक्तदान कार्यक्रमलाई जोड दिइएको समाजका अध्यक्ष रेशम बहादुर महराले बताए । रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको समाजका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक टंक बञ्जाडेले जनाएका छन् ।























