हर्मुज जलमार्गमा विश्वयुद्धको छायाः इरानको कडा चेतावनी, ट्रम्पको सैन्य गुहार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रको रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ट्याङ्करहरूको सुरक्षित आउजाउ सुनिश्चित गर्न विश्व शक्ति राष्ट्रहरुसँग सैन्य सहयोगको अपिल गरेका छन्। ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई आफ्ना ‘इस्कर्ट ट्याङ्कर’ (सुरक्षा जहाज) पठाउन आग्रह गरेपछि मध्यपूर्वको युद्धले नयाँ विश्वव्यापी आयाम लिएको छ।

इरानले अमेरिका र इजरायलसँगको युद्धका क्रममा उक्त प्रमुख जलमार्ग बन्द गरेपछि विश्व बजारमा इन्धनको मूल्य ४० प्रतिशतले वृद्धि भएको छ। यसैबीच, इरानले आइतबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पको आग्रहमा सहभागी हुने देशहरुलाई युद्धमा संलग्न नहुन चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सेली समकक्षीसँगको टेलिफोन वार्तामा द्वन्द्व बढाउने कुनै पनि कार्य नगर्न चेतावनी दिएको बताए।

अमेरिकी सेनाले इरानी इलाकामा रहेका ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण स्थलहरुमा आक्रमण जारी राखेका बेला अन्य देशहरुले भने ट्रम्पको प्रस्तावमा सावधानीपूर्वक प्रतिक्रिया दिएका छन्। बेलायतले आफ्ना सहयोगीहरुसँग समुद्री सुरक्षाका विकल्पबारे छलफल भइरहेको बताए पनि ठोस प्रतिबद्धता जनाएको छैन। जापानी अधिकारीहरुले भने विद्यमान कानुनका कारण युद्धग्रस्त क्षेत्रमा जलसेना पठाउन कठिन रहेको उल्लेख गरेका छन्।

युद्धको केन्द्रमा रहेका इरानी सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीको अवस्थालाई लिएर पनि विभिन्न अड्कलबाजी सुरु भएका छन्। अमेरिकी आक्रमणमा उनी मारिएको हल्ला चलेपछि इरानले त्यसको खण्डन गरेको छ। यद्यपि, राष्ट्रपति ट्रम्पले खामेनी जीवित रहेको ठोस प्रमाण कसैले देखाउन नसकेको भन्दै संशय व्यक्त गरेका छन्।

यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ‘अपराधी’ घोषणा गर्दै उनलाई पछ्याउने र हत्या गर्ने धम्की दिएको छ। यो धम्की इजरायली सेनाले पश्चिमी इरानका विभिन्न स्थानमा लक्षित आक्रमणको शृङ्खला सुरु गरेपछि आएको हो।

ट्रम्पले इरानको प्रमुख तेल केन्द्र खार्ग टापुुमा पुनः बमबारी गर्न सक्ने चेतावनी दिँदै इरान सम्झौताका लागि इच्छुक देखिए पनि आफू अझ कडा सर्तहरु लागू गर्ने पक्षमा रहेको बताए। इरानले भने हर्मुज जलमार्गलाई बन्द नै राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ, जसले गर्दा विश्वव्यापी ऊर्जा सङ्कट थप लम्बिने देखिएको छ।