गौतमबुद्ध विमानस्थलः अर्बौँको लगानी जोखिममा परेको व्यवसायीको गुनासो


बुटवल। रुपन्देहीका उद्योगी तथा व्यवसायीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि नियमित र पूर्ण रुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रको अर्बौँको लगानी संकटमा परेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन्।

पर्यटन व्यवसायी अमित गुप्ताले यस क्षेत्रको पर्यटन बजारमा झण्डै एक खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको भए पनि विमानस्थल सञ्चालनमा देखिएको सुस्तताले प्रतिफल शून्य रहेको र लगानी नै जोखिममा पर्ने अवस्था सिर्जना भएको बताए। लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट र रोहिणी जस्ता ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोडिएका महत्वपूर्ण गन्तव्यहरूको प्रवद्र्धनका लागि यो विमानस्थल मेरुदण्ड मानिए पनि प्रभावकारी पहल हुन नसक्दा पर्यटन क्षेत्र सुस्ताएको उनको भनाइ छ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले विमानस्थल सञ्चालन र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। यो क्षेत्र बौद्ध सभ्यता र धार्मिक पर्यटनको केन्द्र बन्न सक्ने पर्याप्त आधार रहेको उल्लेख गर्दै आचार्यले विमानस्थल पूर्ण रुपमा चल्न थालेपछि समग्र आर्थिक गतिविधिमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरेको बताए। निजी क्षेत्रले स्थिर सरकारबाट लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा ठोस कदमको अपेक्षा गरेको उनको तर्क छ।

त्यस्तै, नेपाल भन्सार एजेन्ट सङ्घ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रुपन्देहीको औद्योगिक महत्वलाई मध्यनजर गर्दै यहाँ उत्पादित वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए। भैरहवा औद्योगिक करिडोरका उत्पादनहरु निर्यात गर्न र अन्तरराष्ट्रिय व्यापार विस्तारका लागि विमानस्थलको नियमित सञ्चालन र नाका व्यवस्थापन अनिवार्य रहेको पन्थीको धारणा छ। विमानस्थल सञ्चालनमा आए लुम्बिनी क्षेत्रको विकाससँगै समग्र उद्योग र व्यापारमा नयाँ ऊर्जा थपिनेमा व्यवसायीहरु अपेक्षा छ।























