कम्युनिष्ट एकता र भविष्यबारे पाल्पामा छलफल


पाल्पा, चैत २९ गते । पाल्पामा कम्युनिष्ट पार्टीको वर्तमान अवस्था भविष्यबारे छलफल गरिएको छ । आइतबार पाल्पामा क्रियाशील चार कम्युनिष्ट पार्टीबीच छलफल गरिएको हो ।

बैठकमा सहभागी विभिन्न कम्युनिस्ट घटकका नेताहरुले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न आपसी सहकार्य र एकता अपरिहार्य रहेको धारणा राखेका छन् ।बैठकमा कम्युनिष्ट शक्तिवीच विगतका कमजोरीहरूको समीक्षा गर्दै अब विभाजन भन्दा एकता र साझा एजेन्डामा केन्द्रित हुनुपर्ने सबैको धारणा रहेको उक्त कार्यक्रममा सहभागिले बताए ।
सहभागीहरूले जनतामा घट्दो विश्वास पुनः स्थापित गर्न व्यवहार, नीति र कार्यक्रममार्फत नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। पाल्पाबाट सुरु भएको यो संवादलाई निरन्तरता दिँदै देशका सबै जिल्लामा छलफल गर्ने सहमति भएको बुझिएको छ । साथै, पार्टी केन्द्रहरूसँग एकताको पहललाई तीव्र बनाउन दबाब सिर्जना गर्ने विषयमा पनि छलफल भएको बताईएको छ ।

बैठकले कम्युनिष्ट पार्टीहरुको स्थापना दिवस संयुक्त रूपमा मनाउने विषयमासमेत गृहकार्य अघि बढाउने निर्णय गरेको छ । जसलाई एकताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाई बैचारिक स्पष्टता र जनतासँग सम्बन्ध सुदृढीकरण बनाउने विषयमा सहभागी नेताहरु एकमत रहेका छन् ।
बैठकमा राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा माओवादी पाल्पाका जिल्ला र केन्द्रीय तहका नेताहरको सहभागितामा छलफल भएको राजमो पाल्पा अध्यक्ष विशाल दर्लामीले जानकारी गराएका छन् ।























