टिप्पर आतंकले बुटवल–पाल्पा सडकखण्ड आक्रान्त
चुनढुङ्गा बोक्ने टिप्परले सडकमा ढुङ्गा खसाल्दै


बुटवल, चैत २९ गते । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चुनढुङ्गा खानीबाट बुटवल, भैरहवा र नवलपरासीका सिमेन्ट उद्योगमा चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुका कारण बुटवलका सडकमा गम्भीर जोखिम बढेको छ । मापदण्ड विपरीत ओभरलोड बोक्ने र सडकमा चुनढुङ्गा खसाल्दै हिँड्ने टिप्परहरुका कारण बुटवल(पाल्पा सडकखण्ड र बुटवल बजार क्षेत्रको सडक सुरक्षामा प्रश्न चिन्ह खडा भएको हो ।

सिमेन्ट उद्योगसम्म कच्चापदार्थ ढुवानी गर्ने टिप्परले बुटवलको सडकखण्डलाई ुमृत्यु पासोुमा परिणत गरेको पाइएको छ । क्षमताभन्दा बढी ९ओभरलोड० चुनढुङ्गा बोकेर गुड्ने टिप्परले सडकमा ढुङ्गा खसाल्दै र तीव्र गतिमा गुड्दा स्थानीय बासिन्दा, साना सवारी र पैदलयात्रीको ज्यान जोखिममा परेको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान सिद्धबाबा क्षेत्रबाट बुटवल हुँदै महेन्द्र्र राजमार्ग चौराहदेखि पूर्व सुनवल तर्फको हाइवे र बुटवल भैरहवा सडकमा दैनिक झण्डै एकसय हाराहारी संख्यामा गुड्ने टिप्परले मापदण्डको धज्जी उडाउँदै आएका छन् । टिप्परको त्रिपालले राम्रोसँग नछोपी, कमजोर त्रिपाल त्यो आधा भाग छोपेर, क्षमताभन्दा दोब्बर भार बोकेर गुड्दा टिप्परबाट ढुङ्गा र चुनढुङ्गाका टुक्राहरु सडकमा खस्ने गरेका छन् ।

बुटवलको मुख्य सडक, विशेषगरी राजमार्ग चौराहादेखि सुनवलतर्फको सडक र चिडियाखोलासम्मको क्षेत्रमा चुनढुङ्गाका ठूला टुक्राहरु सडकभरी छरिएका भेटिन्छन् । जसले गर्दा साना सवारी साधन, मोटरसाइकल र स्कुटर दुर्घटनाको उच्च जोखिम बढेको छ । टिप्परबाट खसेका ढुङ्गामा मोटरसाइकलको चक्कामा परेर कतिपय दुर्घटना भइसकेका छन् । प्रशासनले टिप्परलाई केही नभन्ने, हाम्रो ज्यान जोखिममा छ, बुटवलका स्थानीय रामप्रसाद पौडेलको गुनासो छ । खसेका ढुङ्गाले सडकको संरचनालाई समेत बिगार्ने उनको भनाई छ ।
टिप्पर व्यवसायीहरुले बढी सामान, बढी नाफाको लोभमा सवारी तथा यातायात व्यवस्था ऐन विपरीत भार बोक्ने गरेका छन् । पाल्पा बुटवल खण्डमा सिमेन्ट उद्योगका लागि कच्चापदार्थ बोक्ने टिप्परहरु बिहान ९ बजेतिर दिनभर तीव्र गतिमा गुड्दै आइरहेका छन् । अत्यधिक भार र तीव्र गतिका कारण ब्रेक फेल भएर टिप्पर पल्टिने जोखिम पनि उत्तिकै बढेको छ । यसअघि ओभरलोडका कारण बुटवलको सडक कालोपत्रे उप्किएर हिलो र धुलोले सडकको अवस्था दयनीय बनेको थियो ।
पाल्पाका खानीबाट ओभर लोड भएर बुटवलतर्फ आउने टिप्परले त्रिपाल समेत नलगाई वा कमजोर त्रिपाल लगाएर ढुङ्गा खसाल्ने गरेका छन् । सिद्धबाबा दोभान क्षेत्र, तिनाउ गाउँपालिकाका विभिन्न भाग र बुटवलको चिडियाखोला क्षेत्रमा टिप्परबाट खसेका ढुङ्गाले सडक जोखिम बनेको छ । टिप्पर आउँदा हामी सवारी साधनका चालकहरु सडकको छेउमा गाडी रोकेर बस्छौँ, एक बस चालकले गुनासो गरे, उनीहरुले खसाल्ने ढुङ्गाले सिसा फुट्ने, टायर पड्किने र मोटरसाइकल दुर्घटना हुने गरेको छ ।
पाल्पाको चुनढुङ्गाले उद्योग त चलेका छन्, तर सर्वसाधारणले सडकमा टिप्परको आतंक रोक्न पटक पटक माग गरे पनि जिल्ला प्रशासन कार्यालय पाल्पा र रुपन्देहीले ठोस कदम चाल्न सकेका छैनन् । चुनढुङ्गा ढुवानी गर्ने टिप्परको बेथितिले सर्वसाधारणको बाँच्न पाउने अधिकार र सुरक्षित यात्राको हक हनन गरेको छ । समयमै ओभरलोडिङ र ढुङ्गा खसाल्ने प्रवृत्तिमा रोक नलगाउने हो भने बुटवल क्षेत्रका सडकमा ठूलो दुर्घटनाको जोखिम देखिएको समाजसेवी रमेश कुमार क्षेत्रीले बताए ।
पाल्पाको अर्थतन्त्रसँग जोडिएको चुनढुङ्गा उद्योग महत्त्वपूर्ण भए पनि, ढुवानी प्रक्रियालाई सुरक्षित बनाउन आवश्यक रहेको र टिप्परहरुमा अनिवार्य त्रिपाल प्रयोग गर्ने, ओभरलोड रोक्ने, र सडकमा खसेका ढुङ्गा तत्काल सफा गर्ने व्यवस्थापन नगरेसम्म बुटवल पाल्पा सडकमा दुर्घटनाको ुटिप्पर आतंकु कायमै रहने, सडकखण्डको कालोपत्रे छिट्टै उप्किने र जीर्ण हुने स्थानीय जानकारहरु बताउँछन् ।























