सरकारी विज्ञापन नदिने निर्णयविरुद्द महासंघ


काठमाण्डौ, बैशाख १० गते । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने निर्णयको नेपाल पत्रकार महासंघले बिरोध जनाएको छ ।
प्त्रकार महासंघ काठमाण्डौले उक्त निर्णयको बिरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नाममा २०८३ वैशाख १० गते बिहीबार प्रमुख जिल्ला अधिकारी काठमाडौँमार्फत् ज्ञापन बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन महासङ्घका केन्द्रीय सदस्य सूर्य सुवेदी, उपत्यका प्रदेश समितिका सदस्य वैरागी जेठा, काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याल, उपस्थित पदाधिकारी तथा सदस्यसहितको प्रतिनिधिमण्डल जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई दुई पृष्ठको ज्ञापनपत्र बुझाएको थियो । 

ज्ञापनपत्रमा सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने २०८२ चैत १८ गतेको सचिवस्तरीय निर्णय खारेज गर्न माग गरिएको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित सो ज्ञापनमा सरकारको निर्णय अभिव्यक्ति स्वतन्त्रता, अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यास, नेपालको संविधानमा लिपिबद्ध पूर्ण प्रेस स्वतन्त्रता, सूचनाको हक, सञ्चारको हक, स्वतन्त्र पत्रकारिता र खुला अर्थनीतिको विरुद्ध रहेको दाबी गरिएको छ ।























