सरकारी अतिक्रमित जग्गा खाली गर्न बुटवलमा डोजर प्रयोग


बुटवल, बैशाख १३ गते । बुटवलमा सरकारी जग्गा अतिक्रमण गरी घर टहरा बनाएर ३० वर्षदेखि बस्दै आएकाहरुलाई हटाइएको छ । उच्च अदालत बुटवलको अतिक्रमित जग्गा खाली गराइएको छ ।

बुटवल उपमहानगरपालिका–४, जेसिज चोकबाट उत्तरतर्फको दरबार मार्गस्थित सडकको पश्चिमतर्फ अतिक्रमणमा परेको साबिक कित्ता नं. ३९६ को २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा रहेका ९ वटा अनाधिकृत घर टहरामा डोजर चलाइएको हो ।
तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुलसीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन डोजर चलाइएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाईएको बताए ।
बुटवल उपमहानगरले नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी डोजर चलाएको हो । बुटवल उपमहानगरले केही दिन अघिदेखि बुटवलमा सरकार िजग्गा अतिक्रमण गरी बनाईएका घर टहरा र सडक फुटपाथ हटाउन अभियान चलाएको छ ।























