मरेपनि बांचिरहेका मित्रमणि


श्यामलाल पोखरेल
क्रान्ति र परिवर्तनका लागि जीवन दिएका शहीद मित्रमणि आचार्यप्रति हार्दिक श्रदासुमन छ । नेपाल कम्युनिष्ट पार्टीको परिवर्तनकारी आन्दोलनबाट प्रभावित भएर विद्यार्थी आन्दोलनमा उभिएका मित्रमणिलाइ योजनाबद्द ढंगले २०४२ साल बैशाख १८ गते मारिएको थियो ।

नेपालको बिद्यार्थी आन्दोलनका लागि २०४२ साल बैशाख १८ गते कालो दिन कहिल्यै भुल्न सकिन्न । मित्रमणिलाइ हत्या गरिएको त्यो दिन र मित्रमणिको त्यो अदम्य हिम्मत कहिल्यै भुल्न सकिन्न र मिल्दैन । “कसैको मृत्यु सिमलको भुवा जस्तै हलुका हुन्छ भने कसैको मृत्यु पहाड जस्तै गरुङो हुन्छ भने जस्तै मित्रमणिको मृत्यु पहाड जस्तै गरुङ भैरहेको छ । योजनाबद्व ढंगले मित्रमणिको हत्या गर्नेहरु बांचेपनि मेरेका छन्, भने मित्रमणि मरेपनि बांचिरहेका छन् ।
शहीद मित्रमणि आचार्य कम्युनिष्ट पार्टीका एक निडर र निष्ठाका प्रतिमूर्ति थिए । २२ वर्षिय युवा नेता वर्ग संघर्षप्रति हिमाल जस्तै अटल थिए । जसले गर्दा काग्रेस, पञ्चेको गढ मानिने त्यस बेलाको चितवनमा वर्ग बिरोधी दुश्मनहरुको कसिङगर जस्तै बनेका थिए, मित्रमणि ।

उनी कहिल्यै झुकेनन्, झुकाएर छाडे । लामो योजनाका साथ उनको हत्या गर्ने नेविसंघका त्यस ताकाका नेता कृष्ण अर्याल र हत्यामा संलग्नहरु अहिले बाचेपनि मरे जस्तै गरी शीर घोप्टो पारेर हिड्न बाध्य छन्, भने मित्रमणिको मरेकोे तस्वीर पनि समाजका अगाडि दियो जस्तै बलिरहेको छ । विद्यार्थी आन्दोलनको इतिहांसमा कालो दिन हो, बैशाख १८ गते । जुन दिन नेपाली मााटोले आफ्नो एउटा वीर सपुत युवा नेता गुमाएको दिन हो ।
मित्रमणिको सम्झनामा विद्यार्थी तथा कम्युनिष्ट आन्दोलनका सच्चा अनुयायीहरुले शीर झुकाएर मित्रमणिको स्मरण गर्दै उनले देखाएको बाटो कसरी पुरा गर्न सकिन्छ भन्नेबारे ठन्डा दिमाग बनाएर सोच्ने दिने हो, बैशाख १८ गते ।
२०१९ साल असार ३ गते प्यूठान जिल्लाको साविक रम्दी गाविस वडा नं. २ र हाल ऐरावती गाउंपालिकामा आमा स्व. पिताम्वरदेवी आचार्य, बुवा रेशमराज आचार्यको कोषबाट मित्रमणिको जन्म भएको थियो । हुने बिरुवाको चिल्लो पात भनै झै उनी सानैदेखि जिज्ञासु र लगनशील स्वभावको रहेको उनका दाजु टोपाराम आचार्य बताउन छन् । हरेक विषयवस्तुलाई सहजै रुपमा ग्रहण गर्न सक्ने र समाजमा नेतृत्व गर्न सक्ने उनको विलक्ष्ण खालको प्रतिभा थियो ।
प्रतिभा र नेतृत्व गर्न सक्ने क्षमताका धनी मित्रमणिले प्रारम्भिक शिक्षा २०२५ सालदेखि अथवा ६ वर्षको उमेरमा आफ्नै गाउंमा लिए । शहीद आचार्यले २०३१ सालदेखि प्यूठानकै खैरा निम्न माध्यमिक विदद्यालयमा पढे । २०३५ सालमा रातामाटा माध्यामिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेपछि २०३६ सालमा पक्लिहवा कृषि क्याम्पसमा कृषि विज्ञान विषयको अध्ययन गर्न थालेका थिए ।
राजनीतिमा प्रवेश
राष्ट्रिय जनमोर्चाका नेता तथा शहीद आचार्यका बाल्यकालका साथि नाताले दाजु पर्ने पूर्व सांसद हरि आचार्यका अनुसार पढाइमा टाठा मित्रमणि सानै उमेरदेखि राजनीतिमा लागेका थिए । उनी पढाइ र राजनीति दुवै क्षेत्रमा अब्बल थिए । माध्यामिक तहदेखि अन्याय, अत्याचार, कुरुतीको खुलेर बिरोध गर्थे र बिरोधीहरुसंग निर्धक्कसंग छलफल गर्थे ।
२०३६ सालमा पक्लिहवा कृषि क्याम्पसमा भर्ना भएपछि विद्यार्थी राजनीतिमा बढी सक्रिय भएर जागिर समेत छोडेर संगठन रोजेका थिए । २०३६ सालमा पक्लिहवा कृषि क्याम्पसमा विद्यार्थी संगठनको सदस्य भएका आचार्य मृदुभाषी र मिलनसार स्वभावका थिए । २०३८ सालमै अनेरास्ववियु रुपन्देहीको सचिव र २०३८ सालमै क्याम्पसको स्ववियु निर्वाचनबाट सभापतिमा विजयीमा भएका थिए ।
पक्लिहवा क्याम्पसमा कृषि विषय सहित प्रविणता प्रमाण पत्र आइएस्सी एजी प्रथम श्रणीमा पास गरेका आचार्य, २०३९ सालतिर चितवन गएका थिए । चितवन गएपछि उनी त्यहांको विदार्थी आन्दोलनमा निकै सक्रिय भएर लागेका थिए । कृषि विज्ञानको स्नातक बिएस्सी एजीको थप अध्ययनका लागि कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर, चितवनमा भर्ना भएका थिए । २०४० सालमा अनेरास्ववियुको जिल्ला समितिको कोषाध्यक्ष निर्वाचित भएका थिए ।
०४० माघमा अनेरास्ववियुको आठौं चितवन जिल्ला सम्मेलनबाट मित्रमणि आचार्य उपाध्यक्षमा चुनिएका थिए । २०४० सालको चैत्रमा भारतको गोरखपुरमा अखिलको आठौँ राष्ट्रिय सम्मेलनमा उनी केन्द्रीय सदस्य र मध्य तराई उपकेन्द्रको सचिव भएका थिए ।
२०४१ सालमा रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रगतिशील प्यानलको तर्फबाट उमेद्वारी दिँदै कृषि क्याम्पस रामपुरको स्ववियु सभापतिमा निर्वाचित हुन सफल भएका थिए ।
स्ववियु सभापतिमा विजयी हुनु अघि र भएपछि मिमणि विद्यार्थीहरूको हक, हित र अधिकारका लागि अग्रपंक्तिमा रहेर काम गर्दा क्याम्पस प्रशासनका साथै प्रहरी प्रशासनको तारो बनेका थिए, तर देशभरको विद्यार्थी आन्दोलनका लागि उनी हिरो जस्तै थिए ।
जन्मथलो प्युठानबाट अध्ययनका लागि सुरुमा रूपन्देही र पछि चितवन झरेका थिए । उनको असाधारण प्रतिभा, राजनीतिक कर्मठता र उदाउँदो नेतृत्व क्षमताका कारण कांगे्रस र पञ्चेहरुका लागि उनी विषालु सर्प जस्तै बनेका थिए । कांगे्रस, पञ्चेहरुले मित्रमणिबाट आफ्नो राजनीतिक खतरामा परेको देखेपछि आखाँको कसिंगर बनेका थिए, मित्रमणि । प्युठान, रूपन्देही, चितवनमा मित्रमणि आचार्यको विजय र लोकप्रीयता देखेपछि कांगे्रस, पञ्चेहरुलाई डाहा थियो ।
मित्रमणिको नेतृत्वमा समग्र कम्युनिष्ट आन्दोलन र विदार्थी आन्दोलनको उबहार देखेपछि बिरोधीहरु मित्रमणिलाइ कसरी हुन्छ सिध्याने र आफ्नो रवाफ कायम राख्ने हिसाबले मित्रमणिको हत्याका लागि योजना बनाउन लागि परेको मित्रमणिका सहपाठीहरु बताउ छन् ।
मित्रमणिको हत्या घटना २०४२ बैसाख १४ गतेलाई चितवनको मेघौलीमा टिकाराम पोखरेलको घरमा आयोजना गरिएको थियो । बैशाख १७ गते राखिएको उक्त कार्यक्रम सारेर अर्को दिन १८ गते राखिएको थियो ।
बैशाख १८ गते हुने भेलामा सहभागी हुन गएका मित्रमणि आचार्यलाई तत्कालिन पञ्चे र नेविसंघका नेता, समर्थकहरुले योजनाबद्व रुपमा गुण्डाागर्दीको शैलीमा भाला, खुकुरी र साइकलको चेनजस्ता खरेलु हतियारको प्रयोग गरेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते मित्रमणिको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको थियो ।
टाउकोमा लागेको गहिरो चोट र अत्यधिक रगत बगेका कारण भरतपुर अस्पतालमा उपचार गर्दागर्दै सोही राति २ बजेर ५ मिनेट जाँदा क। मित्रमणि आचार्यको २२ वर्षको कलिलो उमेरमा निधन भयो र नेपाली जनताको वर्गीय मुक्ति आन्दोलनले एउटा उदाउँदो तारा गुमायो ।
शहीद मित्रमणि आचार्यको स्मृतिमा प्यूठानको बिजुवारमा नेकपा मसाल र अखिल छैठौंको सक्रियतामा शालिक निर्माण गरिएको छ । त्यस्तै शहीद मित्रमणिले अध्यन गरेको रामपुर कृषि क्याम्पसमा पनि शालिक निर्माण गरिएको छ ।
पछिल्लो समयमा शहीद मित्रमणि आचार्यको राजनीतिक भूमिका बढ्दै गएको छ । विदार्थी संगठन र कम्युनिष्ट आन्दोलन जोगाउन मित्रमणि आचार्यले कति ठूलो योगदान दिएका थिए ।
अहिले देशमा कम्युनिष्ट आन्दोलन निकै कमजोर हुंदा र सरकारले विदार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउंदा शहीद मित्रमणिको स्मरण गरी उनले देखाएको बाटोमा एकताबद्व भएर लाग्नु पर्ने जरी देखिन्छ ।





















