नेपाली राजनीतिमा नैतिकताको खडेरी र दुइ निष्ठावान पात्र


– गणेश आचार्य
नेपाली राजनीतिको लामो र आरोह–अवरोहपूर्ण कालखण्डलाई फर्केर हेर्दा केही यस्ता पात्रहरू भेटिन्छन्, जो समयको प्रवाहसँगै बगेर हराएनन्, बरु आफ्नै अडान र नैतिकताको चट्टान बनेर उभिरहे । ती मध्ये मोहनविक्रम सिंह र चित्रबहादुर केसी यस्ता नाम हुन्, जसलाई नेपाली राजनीतिको ’नैतिक मानक’ मान्दा अत्युक्ति हुँदैन ।

आजको समयमा जहाँ राजनीतिलाई सत्ता, शक्ति र सम्पत्ति आर्जनको माध्यम बनाइएको छ, त्यहाँ यी दुई नेताको जीवनशैली र वैचारिक निष्ठा एक अपवादका रूपमा देखा पर्छ । कुनै पनि राजनीतिक आन्दोलनको मूल मर्म भनेकै विचारप्रतिको अविचलित अडान, व्यक्तिगत स्वार्थको त्याग र राष्ट्रप्रतिको अगाध प्रेम हो । यी कसीमा घोत्लेर हेर्दा यी दुई नेता समकालीन राजनीतिका अन्य पात्रहरूभन्दा निकै माथि र सम्मानित देखिन्छन ।
आजको राजनीतिमा पदका लागि सिद्धान्त बेच्ने र शक्तिका लागि राष्ट्रिय हितमा सम्झौता गर्ने प्रवृत्ति महारोगका रूपमा फैलिएको छ, जसले गर्दा आम जनतामा राजनीतिप्रति नै वितृष्णा पैदा भएको छ । यस्तो विषाक्त र निराशाजनक वातावरणमा यी दुई नेताले आफ्नो सम्पूर्ण जीवन जसरी सादगी र वैचारिक स्पष्टतामा बिताए, त्यसले उनीहरूलाई आलोचनाभन्दा पनि प्रशंसा र अनुकरणको पात्र बनाएको छ ।

मोहनविक्रम सिंह नेपाली कम्युनिष्ट आन्दोलनका यस्ता वैचारिक प्रणेता हुन्, जसले सात दशकभन्दा लामो समय केवल सिद्धान्तको खेतीमा बिताए । उनको राजनीतिक चरित्रको सबैभन्दा सबल पक्ष भनेको ’आदर्शप्रतिको कठोरता’ हो । धेरै नेताहरू क्रान्तिको कुरा गर्दागर्दै विलासी जीवन र पुँजीवादी सुखभोगमा डुबे, तर सिंहले कहिल्यै आफ्नो वर्ग धरातल छोडेनन् ।
एउटा राजनीतिकर्मीमा हुनुपर्ने सबैभन्दा ठूलो गुण भनेको उसको बोली र व्यवहारमा हुने एकरूपता हो । उनले जेलाई सही ठाने, त्यसका लागि एक्लै उभिन पनि तयार भए । यो सानो हिम्मतको कुरा होइन । आजको राजनीतिमा नेताहरू बिहान एउटा र बेलुका अर्को कुरा गर्छन्, तर सिंहले दशकौँअघि अगाडि सारेका कतिपय अडानहरू आज पनि उत्तिकै दृढ छन् । यो उनको वैचारिक इमानदारीताको पराकाष्ठा हो । उनले आफ्नो संगठनलाई सत्ता प्राप्तिको भ¥याङ बनाएनन्, बरु जनतालाई राजनीतिक रूपमा सचेत गराउने एउटा पाठशालाका रूपमा विकसित गरे ।
नेपालको कम्युनिष्ट आन्दोलनमा धेरै विभाजन भए, धेरै नेताहरू अवसरको खोजीमा यताउता भौँतारिए, तर मोहनविक्रम सिंह आफ्नो ’मसाल’ बोकेर वैचारिक स्पष्टताको बाटोमा हिँडिरहे । उनको देशभक्ति भावना कुनै उग्र नारामा मात्र सीमित छैन, बरु नेपालको भू–राजनीतिक संवेदनशीलतालाई बुझेर राष्ट्रिय स्वाधीनताका पक्षमा अविचलित उभिनुमा देखिन्छ । उनले पहिला भारतीय विस्तारवाद र अहिले सम्पुर्ण साम्राज्यवादी शक्तिका विरुद्धमा जे–जति वैचारिक दस्तावेजहरू तयार पारे, ती आज पनि नेपाली राजनीतिका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हुन् ।
मोहनविक्रमले कहिल्यै पनि सत्ताको चास्नीमा डुबेर राष्ट्रिय स्वार्थलाई बिर्सेका छैनन् । उनले प्रतिपादन गरेको ’अर्धसामन्ती र अर्धऔपनिवेशिक’ अवस्थाको विश्लेषण होस् वा संघीयताको सवालमा राखेको दृष्टिकोण, त्यहाँ केवल राजनीतिक दाउपेच होइन, बरु देशको दीर्घकालीन हितको चिन्ता देखिन्छ । उनको व्यक्तिगत नैतिकता यति उच्च छ कि उनलाई आलोचना गर्नेहरूले पनि उनको आर्थिक अपारदर्शिता वा व्यक्तिगत भ्रष्टताको एउटा पनि प्रमाण भेटाउन सक्दैनन् । एउटा कम्युनिष्ट नेताले आफ्नो जीवनलाई कति सादा र विचारलाई कति उच्च राख्न सक्छ भन्ने कुरा मोहनविक्रमको जीवनबाट सिक्न सकिन्छ । उनी सत्ताका लागि मरिहत्ते गर्नेहरूको भीडमा सधैँ टाढा रहे र वैचारिक शुद्धताको पहरेदार बनेर बसे ।
चित्रबहादुर केसीको प्रसङ्ग आउँदा नेपाली मानसपटलमा एउटा यस्तो नेताको तस्बिर झल्किन्छ, जसले ’राजनीतिक नैतिकता’ लाई आफ्नो जीवनको पर्याय बनाएको छ । संसदीय राजनीतिलाई भ्रष्ट र फोहोरी खेल मान्ने आम धारणाका बीच केसीले त्यही संसदमा बसेर नैतिकताको सुगन्ध छरे । उपप्रधानमन्त्री जस्तो शक्तिशाली पदमा रहँदा पनि उनले राज्यको एउटा सानो सुविधालाई समेत व्यक्तिगत वा पारिवारिक हितमा प्रयोग गरेनन् । यो तहको इमानदारी आजको ’कमिसन र भ्रष्टाचार’ को युगमा दन्त्यकथा जस्तो लाग्छ ।
धेरै नेताहरू पदमा पुगेपछि महल बनाउने र सात पुस्तालाई पुग्ने सम्पत्ति थुपार्ने ध्याउन्नमा लाग्छन्, तर केसी आज पनि सामान्य डेरामा बसेर राष्ट्रियताको वकालत गरिरहेका छन् । उनको यो सादगी कुनै देखावटी ढोंग होइन, बरु उनको राजनीतिक आदर्शको एउटा अभिन्न हिस्सा हो । राष्ट्रियताका सवालमा उनले कहिल्यै कसैसँग सम्झौता गरेनन् ।
संघीयताको विरोध गर्दा उनले जुन तर्कहरू अघि सारेका थिए, आज संघीयताको बोझ र यसमा देखिएका विकृतिहरूले उनकै दूरदर्शिताको पुष्टि गरिरहेका छन् । ’देश रहे मात्र राजनीति रहन्छ’ भन्ने उनको मूल मन्त्रले उनलाई एक सच्चा देशभक्तको रूपमा स्थापित गरेको छ ।
केसीको भाषणमा पाइने जाँगर, संसदमा उनले गर्ने तर्कपूर्ण बहस र भ्रष्टाचारका विरुद्ध उनको गर्जनले नै नेपाली संसदको गरिमा अलिकति भए पनि जोगिएको महसुस भएको थियोे । उनले सार्वजनिक सवारीसाधनको प्रयोग गर्ने, झुपडीमा बस्ने र सामान्य कार्यकर्ता जस्तै जीवन बिताउने जुन शैली अपनाए, त्यो आधुनिक नेपालका विलासी नेताहरूका लागि एउटा ठूलो व्यङ्ग्य हो । उनी कहिल्यै पनि पदको लोभमा परेर आफ्नो अडानबाट पछि हटेका छैनन् ।
चित्रबहादुर केसीको देशभक्ति भावना उनको भाषणमा मात्र होइन, उनको हरेक क्रियाकलापमा झल्किन्छ । उनी विदेशी हस्तक्षेपका विरुद्ध सधैँ खरो उत्रन्छन् र नेपालको मौलिक पहिचानको रक्षाका लागि अडिग रहन्छन् । उनको यो इमानदारीले नै उनलाई जनताको हृदयमा एउटा विशेष स्थान दिएको छ । जहाँ अन्य नेताहरू सत्ताका लागि आफ्नो अडान फेरिरहन्छन्, केसीले भने प्रतिकूल परिस्थितिमा पनि आफ्नो निष्ठाको झण्डा झुक्न दिएनन् ।
समकालीन नेपाली राजनीतिमा अन्य पात्रहरूको स्खलनलाई हेर्दा, उनीहरूले राजनीतिलाई एउटा कमाउने पेसा र सत्तालाई भोगविलासको साधन बनाएका छन् । हिजोका सहिदका सपना र भोका नाङ्गा जनताका पीडा आजका ठूला भनिएका नेताहरूका लागि केबल चुनावी नारा मात्र बनेका छन् ।
पद र पैसाका लागि जस्तोसुकै अपवित्र गठबन्धन गर्न तयार हुने र आफ्नै सिद्धान्तको तिलाञ्जली दिने पात्रहरूको भीडमा मोहनविक्रम र चित्रबहादुर केही ’पुराना’ वा ’परम्परावादी’ देखिनु स्वाभाविक हो । तर, यो ’पुराना’ देखिनु उनीहरूको कमजोरी होइन, बरु उनीहरू आजको विकृत राजनीतिमा नमिलेका सफा र चम्किलो पात्र हुन् । उनीहरूले राजनीतिमा कहिल्यै पनि ’अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण’ हुन दिएनन् । उनीहरूका लागि राजनीति एउटा पवित्र सेवा र देशप्रतिको दायित्व हो । धेरै नेताहरूले क्रान्तिको नाममा जनताका छोराछोरीलाई सडकमा उतारे, तर सत्तामा पुगेपछि आफ्नै परिवार र नातागोतालाई मात्र पोस्ने काम गरे । यसको ठिक विपरित, मोहनविक्रम र चित्रबहादुरले आफ्नो परिवारलाई कहिल्यै राजनीतिका नाममा लाभको पदमा पु¥याएनन् । यो नै वास्तविक राजनीतिक चरित्र हो, जुन आजका अन्य नेताहरूमा कतै भेटिँदैन ।
कुनै पनि राजनीतिक आन्दोलनको सफलता केवल सत्ता प्राप्तिमा मात्र हुँदैन, बरु त्यसले समाजमा कस्तो नैतिक प्रभाव छोड्छ भन्ने कुरामा हुन्छ । मोहनविक्रम र चित्रबहादुरले आफ्नो राजनीति मार्फत एउटा सन्देश दिएका छन्— राजनीति निष्ठाले गरिन्छ, लोभले होइन । उनीहरूले जतिसुकै कठिन परिस्थितिमा पनि आफ्नो इमान बेचेनन् । पञ्चायत कालको कठोर दमन होस् वा बहुदलपछिको सत्ताको प्रलोभन, उनीहरू आफ्नो स्थानमा अविचलित रहे ।
आजका नेताहरूमा देशभक्तिको भावना केबल विदेशी शक्तिलाई गाली गर्ने अस्त्रका रूपमा मात्र प्रयोग हुन्छ, तर भित्रभित्रै उनीहरू उही शक्ति केन्द्रहरूको आशीर्वाद खोजिरहेका हुन्छन् । तर सिंह र केसीले सधैँ खुला रूपमा राष्ट्रिय स्वार्थको वकालत गरे र त्यसका लागि मूल्य चुकाउन पनि तयार भए । उनीहरूको देशभक्ति उनीहरूको व्यवहारमा झल्किन्छ, उनीहरूको सादगीमा देखिन्छ र उनीहरूको पारदर्शी जीवनमा प्रमाणित हुन्छ । उनीहरूले कहिल्यै पनि राष्ट्रिय अखण्डता र स्वाधीनताको सवालमा द्विअर्थी कुरा गरेनन् ।
नेपाली जनताले आज खोजेको नेता ठूला महलमा बस्ने वा विदेशी गाडीमा घुम्ने र जनतालाई सपनाको आश्वासन बाँड्ने जादुगर होइन, बरु जनभावना बुझ्ने र देशको माटोप्रति इमानदार हुने पात्र हो । मोहनविक्रम सिंह र चित्रबहादुर केसीले देखाएको बाटो कठिन अवश्य छ, तर यो बाटोले नै अन्ततः देशलाई सही दिशामा डो¥याउन सक्छ । उनीहरूको देशभक्ति र इमानदारीमाथि शङ्का गर्ने ठाउँ कतै छैन । उनीहरूले आफ्नो व्यक्तिगत सुख र परिवारको भविष्यभन्दा माथि देश र जनताको भविष्यलाई राखे । यो त्याग र समर्पण नै राजनीतिक आन्दोलनको वास्तविक मर्म र प्राण हो ।
आजका युवा पुस्ताले उनीहरूका कतिपय पुराना कार्यनीतिसँग विमति राख्न सक्लान्, उनीहरूको वैचारिक अडानलाइ लिएर आलोचना गर्न सक्लान्, तर उनीहरूको चरित्र र नैतिकताको अगाडि सबैले शिर झुकाउनै पर्छ । किनकि, आजको संसारमा सबैथोक किन्न सकिन्छ तर ’निष्ठा’ र ’चरित्र’ किन्न सकिँदैन, जुन यी दुई नेताको सबैभन्दा ठूलो सम्पत्ति हो । उनीहरूले राजनीतिलाई व्यवसाय होइन, बरु एक पवित्र मिसनका रूपमा बुझे र त्यही अनुरूप जीवन व्यतीत गरे ।
तसर्थ, समकालीन नेपाली राजनीतिमा उनीहरू आलोचना गर्न लायक पात्र हुँदै होइनन् । बरु, उनीहरू त ती दुर्लभ पात्र हुन् जसको जगमा उभिएर भोलिको पुस्ताले नैतिकताको राजनीति सिक्नुपर्छ । यदि उनीहरूजस्तै इमानदार र देशभक्त नेताहरू अन्य ठूला दलमा पनि भइदिएको भए आज देशको अवस्था यो दुर्गतिमा पुग्ने थिएन । उनीहरूको वैचारिक अडानले नै नेपाली राजनीतिमा अझै पनि थोरै भए पनि लाज र मूल्य–मान्यता बाँकी राखेको छ ।
सत्ताको भोक नभएका, सिद्धान्तमा स्पष्ट भएका र राष्ट्रियताका लागि सधैँ सजग रहने यी दुई नेता नेपाली राजनीतिक इतिहासका यस्ता अमूल्य निधि हुन्, जसको मूल्य समयले झन् बढाउँदै लैजानेछ । उनीहरूको जीवन र संघर्षले यो सिकाउँछ कि राजनीतिमा सफलता भनेको सत्ताको कुर्सी र शक्तिको उन्माद होइन, बरु जनताको हृदयमा कमाइने सम्मान, इतिहासले गर्ने उच्च मूल्यांकन र आफूले बोकेको विचारप्रतिको इमानदारी हो । इमान र आदर्शको खडेरी परेको यो मरुभूमि जस्तो राजनीतिमा मोहनविक्रम सिंह र चित्रबहादुर केसी शीतल छहारी र सफा मुहानका रूपमा सदैव जीवित रहनेछन् ।
कुनै पनि राजनीतिक आन्दोलनको अन्तिम उद्देश्य मानवीय मुक्तिको बाटो खोल्नु हो । मोहनविक्रम सिंहले आफ्ना लेख र दर्शन मार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्दै मुक्तिका मार्गहरू पहिल्याउने प्रयास गरे । उनको यो प्रयासमा कुनै व्यक्तिगत स्वार्थ लुकेको छैन । त्यसैगरी चित्रबहादुर केसीले संसदीय मञ्चलाई जनताको वास्तविक आवाज बुलन्द गर्ने थलोका रूपमा प्रयोग गरे ।
उनीहरूको यो निष्ठाले नेपाली राजनीतिमा एउटा यस्तो मानक खडा गरेको छ, जुन भविष्यका पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ । उनीहरूको चरित्रको आलोचना गर्नु भनेको वास्तवमा नैतिकताकै उपहास गर्नु हुनेछ । त्यसैले उनीहरू आलोचनाभन्दा धेरै माथि सम्मान र प्रेरणाका अजय स्रोत हुन् । राजनीतिमा पात्रहरूको स्खलन तब हुन्छ जब उसले आफ्नो आदर्शलाई सुविधासँग साट्न थाल्छ । तर यी दुई पात्रले कहिल्यै आफ्नो आदर्शलाई सुविधाको वस्तु बनाएनन् । उनीहरूको राजनीतिक चरित्रमा देशभक्तिको जुन गाढा रङ छ, त्यो आजका ’मौसमी राष्ट्रवादी’ हरूमा देख्न पाइँदैन । उनीहरूले राजनीतिलाई आफ्नो व्यक्तित्व निर्माणको साधन होइन, बरु समाज र राष्ट्रको रूपान्तरणको हतियार बनाए ।
जबसम्म नेपालमा राष्ट्रियता, नैतिकता र इमानदारीको बहस चल्नेछ, तबसम्म मोहनविक्रम सिंहको वैचारिक दृढता र चित्रबहादुर केसीको नैतिक निष्ठाको चर्चा भइरहनेछ । उनीहरूले छोडेको पदचिह्न नै भोलिको इमानदार राजनीतिको मुख्य मार्गचित्र बन्न सक्छ ।
नेपाली राजनीतिका यी दुई शिखर व्यक्तित्वहरू केवल एउटा पार्टीका नेता मात्र होइनन्, बरु उनीहरू सिंगो देशको नैतिक सम्पत्ति हुन् । उनीहरूको सादगी, देशभक्ति र सिद्धान्तप्रतिको निष्ठाले नै उनीहरूलाई समकालीन राजनीतिमा आलोचनाभन्दा माथि र सम्मानको शिखरमा राखेको छ ।
उनीहरूले स्थापित गरेको इमानदारीको यो विरासतलाई जोगाउनु नै आजको समयको सबैभन्दा ठूलो राजनीतिक धर्म हो । यी दुई महान् पात्रहरूको जीवनगाथा नै नेपाली राजनीतिको वास्तविक आदर्श हो ।
लेखक राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा युवा नेता हुन् ।
























