होटल व्यवसायी संघ रुपन्देहीमा पदहस्तान्त्रण

व्यवसायिको हितमा काम गर्ने अध्यक्ष गौतमको प्रतिवद्वता

श्यामलाल पोखरेल बुटवल, फागुन २८ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा पदस्थापना भएको छ । संघको २० औं साधारण सभा तथा १० औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी पदस्थापना तथा पदहस्तान्त्रण गरिएको हो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन आयुक्त यमलाल खनालले पदहस्तान्त्रण गर्नुभएको थियो । सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पर्यटन क्षेत्रको विकासमा उपमहानगरपालिका प्रतिवद्व रहेको बताउनुभयो ।

आर्थिक सम्वृद्विको लागि मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र विस्तारले बुटवलसहित यस क्षेत्रको विकासमा टेवा पुग्ने भएकाले लगानी बढाउन व्यवसायीलाई सुझाव दिनुभयो । होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहाले पर्यटन व्यवसाय फस्टाएमा देश आर्थिक रुपले सम्वृद्वि बन्ने बताउनुभयो । पर्यटन व्यवसायमा नीजि क्षेत्रको ठूलो लगानी भएकाले लगानीको संरक्षण र लगानीमैत्री वातावरण बनाउने दायित्व राज्यको हो भन्नुभयो ।

कार्यक्रममा नेपाली कांगे्रसका बुटवल नगरसभापति खेलराज पाण्डे, पर्यटन व्यवसायी माधव नेपाल, गोपाल राना, निर्वाचन आयुक्त यमलाल खनाल, निवर्तमान अध्यक्ष समुन्द्र जीसी, पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष दिनेश पाण्डे, नवनिर्वाचित अध्यक्ष रामप्रसाद गौतम, माधवप्रसाद खनाल लगायतले बोल्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष रामप्रसाद गौतमले हो.टल तथा रेष्टुरेण्ट व्यवसायीका समस्या साझा भएको उल्लेख गर्दै ति साझा समस्याहरुको समाधानका लागि सबैसंग सहकार्य र एकता गरी अघि बढ्ने प्रतिवद्वता जनाउनु भएको छ ।

पर्यटन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनुको विकल्प नभएकाले सबै व्यवसायीबीच एकता खांचो रहेको अध्यष गौतमको भनाइ छ । बुटवलको वेलवासमा सञ्चालित अर्घाखांची क्याटरिङमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको पदहस्तान्त्रण कार्यक्रम भएको हो ।