असंवैधानिक कदमका बिरुद्व एकताबद्व हुन राजमोको आह्वान

बुटवल, असार ७ । राष्ट्रिय जनमोर्चा रुपन्देहीले सरकारका असंवैधानिक कदम तथा प्रतिगमनका बिरुद्व एकतावद्व हुन पार्टी मातहतका जनवर्गिय संगठनहरुलाई निर्देशन गरेको छ । कोरोना महामारी र बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग र उद्वारमा लाग्न पार्टीले आग्रह गरेको छ ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा जनवर्गीय संगठनहरुको संयुक्त बैठकमा बोल्दै रुपन्देही अध्यक्ष बद्रे आलमले पार्टीको निर्णय र निर्देशनलाई पालना गरेर गलत क्रियाकलापका बिरुद्व एकताबद्व हुन आग्रह गर्नुभयो । सरकारले प्रतिनिधि सभा विघटन, लामो समयदेखि विचाराधीन रहेको नागरिकता विधेयक संसदको अनुपस्थितिमा अध्यादेशबाट नागरिकता विधेयक जारी गर्ने ओली सरकारको कदम गलत भएकाले त्यकिो बिरोधमा लाग्नु पर्ने बताउनु भयो ।

उहांले कोरोना माहामारीबाट नागरिकलाई बचाउन खोपको व्यवस्था र बाढी पहिरोबाट पीडित नागरिकलाई तत्काल उचित व्यवस्था मिलाउन सरकारसंग माग गर्नुभयो । कोरोना महामारी र बाढी पहिरोबाट नागरिकले ज्यान गुमाइरहेको अवस्थामा सरकार मुकदर्शक बनेको अध्यक्ष आलमको दावी छ ।

कोरोना महामारीबाट मानव जातिको अस्तित्व नै समाप्त हुने खतरा उत्पन्न भएको अवस्थामा सरकार सत्ता लम्ब्याउने खेलमा लागेको अध्यक्ष बद्रे आलमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पूर्ण सरकारले ल्याउनु पर्ने बजेट काम चलाउ सरकारले ल्याएको र बजेट पूर्तिको श्रोत चुरे लगायतका पहाड उत्खनन् गरी सरकारको भारत निकासीको योजना गलत भएकोसमेत विज्ञप्तीमा उल्लेख छ ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीसहित, अखिल नेपाल मजदुर संघ रूपन्देही, अखिल नेपाल युवक संघ, अध्यक्ष, अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ, अखिल छैठौं,रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल बुद्धिजीवी संघ, अखिल नेपाल जनजाति सम्मेलन, जातीय समता समाज, अखिल नेपाल शिक्षक संघ, अखिल नेपाल उद्योग व्यापार संघ, प्रगतिशील पत्रकार संघ र तराई मधेश जनबादी मोर्चा रूपन्देहीका अध्यक्ष तथा पदाधिकारीहरुको संयुक्त बैठकमा सहभागिता थियो । गणेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जनवर्गिाय संगठनका अध्यक्षहरुले आआफ्ना भनाइ राख्नुभएको थियो ।