थबाङमा प्रगतिशील सांस्कृतिक कार्यक्रम

रोल्पा, बैशाख २२ गते । रोल्पा जिल्लाको प्रगतिशील सांस्कृतिक कार्यक्रम गरिएको छ । ‘प्रगतिशील संगीत उत्सव–२०८३’ अन्तर्गत आयोजित उक्त कार्यक्रममा देशभरबाट सहभागी कलाकार, सांस्कृतिक समूह तथा स्थानीय दर्शकको हभागिता रहेको थियो ।

रक्तिम साँस्कृतिक अभियानबाट महासचिव हेमराज अश्रम र केन्द्रीय सदस्य थुमराज ढुंगानाको उपस्थिति रहेको छ । त्यस्तै रक्तिमका पूर्व अध्यक्ष जीवन शर्मा, नारायण शर्मा र निलिमा पुनको पनि उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रगतिशील विचारधारामा आधारित गीत, संगीत तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए । उद्घाटन सत्रसँगै विभिन्न कलाकारहरूले सामाजिक परिवर्तन, समानता र न्यायको सन्देश बोकेका प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरूले कला र संस्कृतिमार्फत जनचेतना फैलाउने उद्देश्यलाई विशेष रूपमा जोड दिएका थिए।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य प्रगतिशील गीत–संगीतमार्फत सामाजिक चेतना अभिवृद्धि गर्नु, सांस्कृतिक एकता मजबुत बनाउनु तथा सिर्जनात्मक अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्नु रहेको छ।

उक्त उत्सव दुई दिनसम्म सञ्चालन हुने बताइएको छ । पहिलो दिन सांगीतिक प्रस्तुति तथा सांस्कृतिक कार्यक्रम भएको थियो, ने दोस्रो दिन अन्तरक्रिया, कार्यशाला तथा प्रगतिशील सांगीतिक धारामाथि छलफल भएकोछ ।

थबाङ ऐतिहासिक तथा राजनीतिक रूपमा पनि महत्वपूर्ण स्थान भएकाले यहाँ आयोजना गरिएको यस्तो कार्यक्रमले स्थानीय सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा थप सुदृढ बनाउने विश्वास गरिएको आयोजकले जनाएको छ। साथै, यसले पर्यटन प्रवद्र्धन र सांस्कृतिक जागरणमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा महिला, दलित, आदिवासी–जनजाति तथा सीमान्तकृत समुदायको सहभागितालाई विशेष प्राथमिकता दिइएको थियो, जसले समावेशी सांस्कृतिक वातावरण निर्माणमा टेवा पुगेको सहभागीहरूले बताएका छन्।