प्राकृतिक जल सम्पदा मासिँदा बुटवल डुबानको खतरामा

बुटवल । जिल्लाको ऐतिहासिक सोह्रछत्तीस नहर, सुखौरा खोला र बुटवलका रैथाने राजकुलाहरु तीव्र शहरीकरण र भूमाफियाको चपेटामा परेका छन् । बुटवल उपमहानगरपालिका भित्रका रैथाने राजकुला र सिंचाइ नहरलाई पुरेर, मिचेर र ढल निकास बनाएर घर तथा कंक्रिट संरचनाहरु निर्माण गर्नुले ऐतिहासिक सिंचाइ प्रणाली पछिल्लो समय संकटमा पर्दै गएको पाइएको छ ।

विपद् व्यवस्थापनका चर्का नारा र बाढी–पहिरोको उच्च जोखिमबीच बुटवल उपमहानगरपालिकाभित्रको जल सम्पदामाथि भौतिक संरचनाको दोहन चरम सीमामा पुगेको हो । बुटवलको लाइफलाइन मानिने सोह्र–छत्तीस नहर र सुखौरा खोला मासिनुको रहस्यले बुटवलको भविष्य नै संकटमा पर्ने देखिन्छ । बुटवलका वडा नम्बर ४, ५, ६, ७, ८, ९ र ११ मा सबैभन्दा धेरै प्राकृतिक सम्पदाको दोहन भएको छ ।

रैथाने राजकुला, साना सिंचाइ नहर, र प्राकृतिक बहावहरु मासेर घर तथा सडक निर्माण गर्ने क्रम बढेसँगै दक्षिण एसियाकै नमुना मानिएको सिंचाइ प्रणाली संकटमा परेको हो । रुपन्देहीको करिब ५ हजार हेक्टर भन्दामाथि जमिन सिंञ्चित गर्ने १५० वर्ष पुरानो सोह्र छत्तीस नहर प्रणाली र अन्य रैथाने कुलाहरु पछिल्लो समय अतिक्रमणको चपेटामा पर्दै गएका छन् ।

बुटवलको अमरपथ, चाँदबारी, इट्टाभट्टी, कालिकानगर र देविनगर लगायत तिनाउ नदी किनारका विभिन्न क्षेत्रमा वर्षौंदेखि बग्दै आएका कुला र नहर पुरेर घर, टहरा र सडक बनाएको पाइएको हो । कुनै समय कञ्चन पानी बग्ने सोह्र छत्तीस नहर र सुखौरा खोला अहिले ढल र फोहोर फाल्ने ठाउँमा परिणत हुनुको साथै २० देखि ३० मिटर अतिक्रमण भएको रहस्य फेला परेको हो । विकासका नाममा नहरको जग्गा मिचेर जग हाल्ने र नहरको भागलाई मिचेर बाटो, घर बनाउने काम भएका उदाहरण फेला परेका छन् ।

जसले गर्दा नहर साँघुरिदै गएपछि तल्लो तटीय क्षेत्र हाल तिलोत्तमा नगरपालिका ११ अन्र्तगत पर्ने साविक (मक्रहर, टिकुलीगढ) का किसानहरु सिंचाइबाट बञ्चित हुने अवस्थामा पुग्नुको साथै खेतीयोग्य जमिन बाँझो बन्दै जाने क्रम बढेको किसानहरु बताउँछन् । प्राकृतिक निकास राजकुला मासेर घर बनाउँदा सामान्य वर्षामा पनि बुटवलका मुख्य बजार क्षेत्र अमरपथ, हस्पिटल लाइन, मिलन चोक, चौराह लगायत क्षेत्र विगत दुई तीनबर्ष यता डुबानमा पर्ने गरेका छन् ।

तिनाउ नदीको कन्या ढुंगाबाट सुरु हुने यो प्रणाली बुटवलको रैथाने पहिचान मानिन्छ । तर, विकासका नाममा यस्ता सार्वजनिक संरचना मासेर निजी घर बनाउने प्रवृत्तिले नगरलाई ठूलो विपत्ति डुबान र सिंचाइ अभावतर्फ धकेल्ने जोखिम बढ्दै गएको छ ।

नहरमा प्लास्टिक र औद्योगिक फोहोर थुप्रिदा माटोको उर्वराशक्ति नष्ट हुँदै गएको छ । पहिले सोही जग्गामा राम्रो उब्जनी हुन्थ्यो, अहिले बर्सेनि उत्पादन घट्दै गएको छ, किसान किरण पाण्डेको गुनासो छ । उपमहानगरपालिकाले प्राकृतिक जल सम्पदाको दोहन अतिक्रमण हटाउन देखाएको उदासीनता र राजनीतिक दलहरुको मौनताले गर्दा सार्वजनिक जग्गा र नहरको जग्गामा अवैध निर्माणले प्रोत्साहन पाइरहेको स्थानीयहरुको आरोप छ । तर पछिल्लो समय उपमहानगरपालिकाले सडकका सार्वजनिक खाली जग्गामा सौन्दर्यीकरण (पार्क, चौतारी) गर्ने केही प्रयासहरु गरे पनि नगरभित्रका विभिन्न क्षेत्रमा ऐतिहासिक पानीका पोखरी, कुलामाथि आवासिय घर तथा होटल, पार्टी प्यालेसहरु व्यापक बनाइएको तथ्य भेटिएका छन् ।

बुटवलका रैथाने राजकुला र सिंचाइ नहरहरु हाम्रा जीवन्त सम्पदा हुन्, तिनलाई विकासको नाममा मास्नु दीर्घकालीन विनाश हो, सोह्र छत्तीस संयुक्त सिंचाइ प्रणालीका अध्यक्ष ध्रुब कुमार धिताल भन्छन्, हामीले हिजोेका दिनमा धेरै पटक प्रयास गरेका हौं, स्थानीय पालिका लगायत निकायलाई ध्यानाकर्षण गरायौं तर त्यो बेला सुनुवाई भएन । अब नीतिगत कुरामा केही परिवर्तन होला जस्तो छ, हामीले बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकामा सोह्र छत्तीस खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउनुपर्ने बिषयमा ज्ञापन पत्र बुझाउने तयारी गरेका छौं ।

नहर पुरेर घर बनाउने, अनि डुबान भएपछि बाढी आयो भन्दै रुने ? प्राकृतिक बहाव मासेर गरिएको विकास दिगो नहुने पर्यावरण संरक्षण समाज नेपालकी संस्थापक अध्यक्ष गंगा पोख्रेलले सिंचाइ प्रणाली आज फोहोरको ढलमा परिणत र घरहरुको कब्जामा पर्दासमेत जिम्मेवार निकायहरु अब पनि नजाग्ने हो भने बुटवलले ठूलो मूल्य चुकाउनु पर्ने बताउँछिन् ।

सिंचाइ प्रणालीको स्वीकृति नलिई नहरको जग्गामा बनेका कंक्रिट भवनहरुको नक्सा उपमहानगरपालिकाले पास गरिदिँदा जल सम्पदालाई अतिक्रमण गर्ने क्रम बढ्दै गएको सोह्र छत्तिस सिंचाइ प्रणाली अन्तर्गत पर्ने किसान तथा मद्रहानी मौजा सिंचाइ प्रणालीका अध्यक्ष मोहनलाल ज्ञवाली (सुरज) को भनाई छ ।

अतिक्रमणको डरलाग्दो अवस्थानहरमा घरः १५० वर्षभन्दा बढी पुरानो इतिहास बोकेको सोह्र छत्तीस नहरको डिल मिचेर प्रारम्भिक सूचना संकलनका अनुसार ५८ वटा पुलपुलेसा, ३ वटा विद्यालय, २ वटा कलेज, एउटा चर्च, ४ वटा मन्दिर र २ सय भन्दाबढी घरहरु बनेका छन् । थप यथेष्ट सूचना संकलन जारी छ । बुटवलका रैथाने राजकुलाहरु ९स्थानीय पानीका मुहान० मासेर सडक विस्तार गर्ने, व्यक्तिगत घर र होटल बनाउने क्रमले गर्दा पानीको प्राकृतिक बहाव अवरुद्ध हुने समस्याले गर्दा सहरमा जलमग्न हुने जोखिम बढेको छ ।

विपद् निम्त्याउने कङ्क्रिटको ‘अत्याचार’
बुटवलको यो अतिक्रमणले कस्तो विपद् निम्त्याउन सक्छ भन्ने कुरा गत वर्षहरुका घटनाले प्रस्ट पार्छन् । सुखौरा खोलाको किनारमा भइरहेको अवैध बसोबास र संरचना निर्माणले वर्षायाममा आउने बाढीले बाटो बिराउँदा बस्तीमा पानी पस्ने जोखिम उच्च रहेको छ । बुटवल उपमहानगरपालिकाले तिनकुने क्षेत्रमा यस्ता अवैध संरचना हटाउने सुचना निकाले पनि हालसम्म कार्यान्वयन भएको देखिएको छैन् । जसले गर्दा जल सम्पदा मास्ने माफियाहरुको मनोबल बढेको देखिन्छ ।