भूमिहीन तथा अव्यवस्थित बसोवासीले प्रदर्शन गर्दै मागे प्रधानमन्त्रीको राजीनामा

बुटवल, बैशाख २४ गते । भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा सरकारविरुद्द प्रदर्शनमा उत्रेका छन् ।
सरकारले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई उठाएर घरबारबिहिन गराउन थालेको भन्दे उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।
प्रदर्शनकारीले सरकारले वास्तविक भूमिहीनको पहिचान गरी लालपुर्जा दिनुपर्ने र उनीहरूलाई बिना विकल्प बस्ती खाली गर्ने कार्य तत्काल रोक्न माग गरेका छन् ।

हजारौको संख्यामा प्रदर्शनमा उत्रेका उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहा विरुद्द नाराबाजी गर्दै राजीनामा माग गरेका छन् ।
उनीहरुले डोजर आतंक बन्द गर, नागरिकलाई विस्तापित होइन स्थापित गर, हाम्रो कर र मत वैध हामी बसेको जमिन कसरी अवैध, नागरिकलाई आत्महत्या गर्न बाध्य पार्ने कार्य बन्द गर, मानव अधिकारको सम्मान गर, ध्वंश हैन बाच्ने अधिकार दे, बस्ती उजाड हैन व्यवस्थापन गर, व्यवस्थापनको नाममा नजरबन्द बन्द गर, विकासको नाममा विनाश स्वीकार्य छैन भन्दै बुटवलमा प्रदर्शन गरिएको छ ।

सरकारले हाम्रा मागहरु पुरा नगरे आन्दोलनलाई देशव्यापी गराउने सरकारलाई चेतावनी दिंदै आन्दोलन दबाउन खोजे त्यसको प्रतिकार गर्ने बताएका छन् ।

बुटवलको राजमार्ग चौराहाबाट शुरू भएको विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । बुटवलका देविनगर, बुद्धनगर, मजुवा, रानीगन्ज लगायतका स्थानमा सुकुम्वासी र अव्यवस्थित वस्तीहरु छन् ।