स्वर्गीय बुवा–आमाको नाममा अक्षयकोष स्थापना

बुटवल । हाम्रो समाजमा विभिन्न उत्सव तथा धार्मिक कार्यहरुमा अनावश्यक खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ । तर, यसै समाजका एक दम्पतीले भने त्यस्ता भड्किलो कार्यलाई निरुत्साहित गर्दै आफ्नो गाउँको विद्यालयमा ‘अक्षयकोष’ स्थापना गरेर अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा न ९ स्थायी ठेगाना भइ अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ काहुले विसौनाका छोरा रामप्रसाद पाण्डे र बुहारी शर्मिला पाण्डेले गाउँको सरस्वती माध्यमिक विद्यालयमा आफ्ना स्वर्गीय बुवा आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । पाण्डे दम्पतीले आफ्ना दिवङ्गत बुवाआमाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाँको कोष स्थापना गरेका छन् ।

कोषले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने र विपन्न तथा जेहेन्दार बालबालिकाको पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो गाउँको विद्यालयमा स्वर्गीय बुवाआमाको नाममा अक्षयकोष स्थापना गरेको पाण्डे दम्पतीको भनाई छ । उक्त कोषबाट प्राप्त हुने ब्याज रकमबाट प्रत्येक वर्ष विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका तर पढाइमा उत्कृष्ट रहेका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने बताइएको छ ।

स्वर्गीय बुवा आमाको समाजसेवाप्रतिको लगावलाई जीवन्त राख्न यो कोष स्थापना गरिएको पाण्डे परिवारले बताएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ृअध्यक्ष नारायणप्रसाद पाण्डेले यस अक्षयकोषले विपन्न विद्यार्थीको पढाइमा ठूलो टेवा पुग्ने र अन्य व्यक्तिहरुलाई पनि यस प्रकारको सामाजिक कार्य गर्न प्रेरणा मिल्ने बताए । विद्यालयले एक कार्यक्रम आयोजना गरी उक्त रकमको चेक हस्तान्तरण गर्दै दाता परिवारप्रति सम्मान प्रकट गरेको छ ।