सरकारको बिरोध गर्दै बुटवलमा भूमिहिन तथा अव्यबस्थित बसोवासीको प्रदर्शन


बुटवल, जेठ १ गते । गरिबलाई घरबारविहिन गराउन पाइदैन, वासको अधिकार सुनिश्चित गर भन्दै बुटवलमा भूमिहिन तथा अव्यबस्थित बसेवासीको प्रदर्शन गरेका छन् ।

बर्षौ अघिदेखि बसोवास गर्दै आएकाहरुलाई सरकारले डोजर लगाएर हटाएपछि देशरभरका भूमिहिन तथा अव्यबस्थित बसोवासीले बुटवलमा सरकारको बिरोध गर्दै राष्ट्रिय स्तरको प्रदर्शन गरेका हुन् ।
आइतबार बुटवलको प्रदर्शनमा देशरभरबाट भेला भएका भूमिहिन तथा अव्यबस्थित बसोवासीको प्रदर्शनमा बालवालिकादेखि महिला र वृद्दवृद्दासम्म सहभागिता थियो । सरकारले सार्वजनिक जग्गा संरक्षण गर्ने नाममा गरिब तथा नमिुखाहरुलाई डोजर लगाएर अपमानपूर्ण तरिकाले लखेटेको भन्दै प्रदर्शनकारीहरुले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गरेका छन् ।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा बुटवलमा भोली हुने राष्ट्रिय भेलाको पूवै सन्ध्यामा सरकारलाई दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको हो । 
बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोक मा पुगेर सभामा परिणत भएको थियो ।
बर्षौ अघिदेखि घरबास बनाएर बसेकाहरुलाई सरकारले डोजर लगाएर हजारौ नागरिकको उठिबास लगाएर गरिब तथा विपन्न नागरिकलाई सरकारले अपमान गरेकाले बिरोधमा उत्रनु परेको र आन्दोलनलाई देशरभर थप सशक्त बनाउने राष्ट्रिय भेला आयोजक समितिका संयोजक खगेन्द्र पौडेलले बताए ।
भूमिहिन तथा अव्यबस्थित बसेवासीले प्रदर्शन गर्नु अघि नै बुटवलमा प्रहरी परिचालन गरिएको थियो । राष्ट्रिय भेलामा २२ जिल्लाबाट प्रतिनिधित्व हुने भेला आयोजकहरुले जानकारी गराएका छन् ।























