लुम्बिनी प्रादेशिक अस्पताल चमेनागृह ठेक्का प्रकरणः अख्तियारद्वारा अनुसन्धान सुरु


बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको चमेनागृह (क्यान्टिन) वर्षौंदेखि सार्वजनिक खरिद ऐन विपरीत एकपटक ठेक्का लगाएर प्रत्येक वर्ष एउटै ठेकेदारलाई नवीकरण गर्दै सञ्चालन गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर चासो देखाएको छ । यसअघि पाँच वर्षअघि चमेना गृह ठेक्का लगाएर नवीकरण गर्दै एउटै संस्थालाई दिएको समाचार प्रकाशित भएपछि आयोगको गम्भीर ध्यानाकर्षण भई अनियमितता र अवैधानिक नवीकरणबारे छानबिन अगाडि बढाएको पाइएको हो ।

प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को उल्लंघन गर्दै पटकपटक नवीकरण गरिएका सम्झौता पत्रसहित समाचार बाहिरीएपछि अख्तियारले लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनलाई कडा निर्देशन दिएको बताइएको छ ।
पाँच वर्षअघि लागेको चमेनागृहको ठेक्का अवधि सकिए पनि अस्पताल प्रशासनले सार्वजनिक खरिद ऐन विपरीत बर्सेनि सोही ठेकेदारलाई नवीकरण गर्दै आएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले अस्पताल प्रशासनलाई पत्राचार गर्दै आयोगले अस्पतालमा रहेको चमेना गृह करिव पाँच बर्ष अघि ठेक्का लगाईएको हाल उक्त ठेक्काको समयावधि सकिदा समेत पुनः ठेक्का पक्रिया गर्नुपर्नेमा कानुन विपरीत विगत लामो समयदेखि एउटै संस्थालाई नवीकरण गरी चलाउन दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ९ अनुसार लेखी पठाउन निर्देशनात्मक पत्र पठाएको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारको निर्देशनपछि लुम्बिनी प्रादेशिक अस्पतालले हाल कार्यरत ठेकेदारलाई थप म्याद नथप्ने र आगामी दिनमा टेन्डर प्रक्रियामा नआउने जोसुकैलाई क्यान्टिन चलाउन नदिने र नयाँ ठेकेदार छनोटका लागि सूचना प्रकाशित गरिने बताइएको छ । समाचारले चमेनागृहको अनियमितता छर्लङ्ग पारेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ९ अनुसार छानबिन अघि बढाइने भएको छ ।























