क्षितिजको संघर्ष मैदानदेखि आकाशसम्म सफलता



सितुप्रसाद श्रेष्ठ
नेपालको ऐतिहासिक एवं जेठो व्यायामशाला ‘नेपाल व्यायाम मन्दिर’, काठमाडौंको एउटा कुनामा—जहाँ रड र प्लेटहरू ठोकिँदा मधुर धून सुनिन्छ, पसिनाको आफ्नै सुगन्ध छ, र भित्तामा झुन्डिएको विशाल ऐनाले विगत १५ वर्षदेखि एउटै अनुहारलाई निरन्तर नियालिरहेको छ । त्यो अनुहार हो—क्षितिज थापा।

धेरैलाई लाग्छ, सफलता एउटा सुन्दर बिहान हो, जो अचानक उदाउँछ । तर क्षितिजको हकमा सफलता एउटा अँध्यारो सुरुङमार्ग जस्तै थियो, जहाँ उनले डेढ दशकसम्म धैर्यताको टर्च बालेर यात्रा गरे । यो कथा केवल एक बडीबिल्डरको होइन, समयलाई जित्ने साधकको गाथा हो ।
१६ वर्षको उमेर र एउटा अधुरो सपना
२०४८ साल श्रावण १५ गते जन्मिएका क्षितिजले १६ वर्षको उमेरमै विश्वप्रख्यात बडीबिल्डर जे कटलरबाट प्रेरित भएर जिमको ढोका ढकढक्याए । तर यात्रा सोचेजस्तो सहज थिएन । उनको पहिलो पाइला ‘धर्मश्री’को मञ्चमा ठोक्कियो, जहाँ नतिजा निराशाजनक रह्यो । कमजोर पोजिङ र अपर्याप्त मसल डेफिनेसनले उनलाई रित्तो हात फर्कायो।
“हिम्मत हार्ने मन भएको थियो,” उनी सम्झिन्छन् । तर त्यही धक्काले उनलाई एउटा कुरा सिकायो—जित्नका लागि केवल शरीर होइन, अनुशासन र विधि चाहिन्छ । उनले हारलाई विश्रामको ठाउँ बनाएनन्, बरु त्यसलाई इन्धन बनाएर १५ वर्षसम्म आफूलाई फलामसँग पगालिरहे।
‘मोटिभेसन’ बाट ‘साधना’ सम्मको यात्रा
एक चरणपछि क्षितिजले बुझे—भिडियो हेरेर आउने क्षणिक मोटिभेसनले वास्तविक युद्ध जितिँदैन । उनले आफ्नो जीवनलाई वैज्ञानिक प्रयोगशाला बनाए । खानाको हरेक दाना गन्न थाले, निद्राको हरेक मिनेट मापन गर्न थाले ।
यो कठिन यात्रामा उनलाई साथ दिने बलियो खम्बा थिइन् उनकी श्रीमती डा. देवाश्री विष्ट । डाक्टरको पेशा र घरको जिम्मेवारीका बीच उनले क्षितिजको डाइट चार्टलाई आफ्नो मन्त्र बनाइन् । लो कार्ब, हाई(प्रोटिन र पानीको सटिक नियन्त्रण ।
“प्रतियोगितामा वहाँको सफलता देख्दा मेरा आँखा रसाए,” देवाश्री भावुक हुँदै भन्छिन्। यो केवल क्षितिजको मात्र होइन, एउटा परिवारको सामूहिक तपस्या थियो ।
ऐतिहासिक सप्ताह
भनिन्छ, नियतिले कठिन तपस्याको फल कहिलेकाहीँ ‘बोनस’ सहित दिन्छ । २०८२ सालको चैत्र महिना नेपाली शारीरिक सुगठन खेल इतिहास क्षितिज थापाको नाममा अंकित भयो ।
प्रथम मिस्टर रामापिथेकस बुटवल
७० केजी माथिको हेभीवेट विधामा उनी जब मञ्चमा उत्रिए, १५ वर्षको अनुभव उनको शरीरको हरेक मांसपेशीमा झल्किन्थ्यो। नतिजा थियो नगद २ लाख र उपाधि सहित ओभरअल च्याम्पियन। २) मिस्टर हिमालय उपाधि । रामापिथेकस को उत्सव मनाउन नपाउँदै उनी चितवन पुगे। ७५ केजी तौल समूहबाट पुनः ओभरअल उपाधि चुम्दै ५ लाख नगद पुरस्कार सहित च्याम्पियन अफ च्याम्पियनु बने। दुई साताभित्र दुई राष्ट्रिय ओभरअल उपाधि जित्नु मात्रै संयोग थिएन,यो त १५ वर्षको मौन साधनाको विस्फोट मात्र थियो।
मांसपेशीमा कुँदिएको समयको सन्देश
क्षितिज जब मञ्चमा पोज दिन्छन्, त्यहाँ केवल सुगठित मांसपेशी मात्र देखिँदैनन्। त्यहाँ देखिन्छ हजारौँ घण्टाको एक्लोपन, त्यागिएका मनपर्ने परिकार र हार स्वीकार्न नमान्ने उनको दृढ इच्छाशक्ति ।
अहिले जिम उपकरण आयात व्यवसायमा सक्रिय रहेका क्षितिज नयाँ पुस्तालाई सन्देश दिन्छन् । “जिम केवल मसल बनाउने ठाउँ होइन, यो मानसिकता बलियो बनाउने यात्रा समेत हो। जित्नका लागि कहिलेकाहीँ वर्षौँसम्म प्रयत्नशील बनि धैर्य गर्ने सामथ्र्य चाहिन्छ।”
क्षितिज आफ्ना अनुभव सुनाउँदै भन्छन् “यदि तपाईं आफ्नो कर्ममा अडिग हुनुहुन्छ भने, एकदिन समय तपाईंको पक्षमा आउन बाध्य हुन्छ।”























