नेपाल स्वीटजरल्याण्डबीच शिक्षा साझेदारी विस्तारमा छलफल


काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत ड्यानिएल मेउलीबीच शिक्षा क्षेत्रको साझेदारी विस्तार र विकास सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा दुई पक्षबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन तथा नेपालको शिक्षा क्षेत्रमा स्वीटजरल्याण्डले गर्दै आएको सहयोगलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको हो । भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र स्वीटजरल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै नेपालको शिक्षा तथा विकास क्षेत्रमा स्विस सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
उनले प्राविधिक तथा व्यावसायिक शिक्षालाई समयसापेक्ष बनाउन सिटीईभिटी ऐन संशोधनको प्रक्रिया अघि बढिरहेको र विज्ञहरूको सुझावका आधारमा मस्यौदा तयार गरी छिट्टै संसदमा लैजाने तयारी भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले विद्यालय तहदेखि नै रोजगारमुखी शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै प्राविधिक शिक्षाको विस्तार, डिजिटाइजेसन, समावेशी शिक्षा र विशेष अटिजम विद्यालय स्थापना सरकारको प्राथमिकतामा रहेको बताए।

उनले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमलाई प्रभावकारी अभ्यासका रूपमा उल्लेख गर्दै त्यसलाई पाठ्यक्रममा समावेश गरी देशभर विस्तार गर्ने योजना रहेको जानकारी गराए । नेपालमा स्विस सरकारको सहयोगमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) मार्फत राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, दिगो रोजगारीका लागि सीप विकास तथा युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षासम्बन्धी तीन परियोजना सञ्चालनमा छन्।
भेटमा राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्विस सरकारको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । उनले हाल सञ्चालनमा रहेका तीन ओटा परियोजनालाई एकीकृत गरी अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी रहेको जानकारी दिँदै नेपाल सरकारका प्राथमिकताअनुसार शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्न स्वीटजरल्याण्ड सधैं तयार रहेको बताए ।























